इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

एजेन्सी

शुक्रबार, २८ असोज २०७९, १२ : ३७
इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

एजेन्सी । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित हुनुभएको छ । संसदमा बिहीबार भएको मतदानपछि उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको सभामुखले घोषणा गर्नु भएको थियो ।

नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।

नवनिर्वाचित राष्ट्रपति रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नुहुनेछ । रशिदले उहाँलाई नै पराजित गर्नु भएको हो ।मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए ।

नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद यसअघि दुई पटक सम्म असफल भएको थियो ।अहिले ७८ वर्ष उमेर पुग्नु भएका रशिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोत मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस