पछिल्लो ६ दिनमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ बेपत्ता

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, ११ : ३१
पछिल्लो ६ दिनमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ बेपत्ता

काठमाडौं । पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । 

उक्त अवधिमा रेकर्ड भएका ११८ वटा विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन् ।गृहका अनुसार बितेको ६ दिनमा विपद्का घटनामबाट १८१ परिवार प्रभावित भएका छन् । 

पछिल्लो साता सबैभन्दा ठूलो जनधनको क्षति बाढी र पहिरोबाट भएको छ । बाढी र पहिरोका घटनामा परी ३९ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । बाढी र पहिरोबाट सबैभन्दा ठूलो जनधनको क्षति कर्णाली प्रदेशमा भएको गृहले जनाएको छ । 

यसवर्ष (२०७९ वैशाख १ गतेदेखि असोज २५ गतेसम्म) विपद्का घटनामा परी नेपालमा २७६ जनाको मृत्यु भइसकेकाे छ । पछिल्लो करिव ६ महिनाको अवधिमा नेपालमा २ हजार २ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ३३ जना बेपत्ता भएका छन् भने ५८७ जना घाइते भएका छन् । 

यसवर्ष विपद्का घटनामध्ये पहिरोमा परी सबैभन्दा बढीको ज्यान गएको छ । हालसम्म पहिरोमा परी ९१ जनाको मृत्यु भइसकेको छ । 

गृह मन्त्रालयका अनुसार यसवर्ष विपद्का घटनाबाट १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस