चुरे संरक्षण र विकासका लागि मधेस प्रदेशमा प्रतिष्ठानको स्थापना

सफल खबर संवाददाता

शुक्रबार, ०७ असोज २०७९, १६ : ४४
चुरे संरक्षण र विकासका लागि मधेस प्रदेशमा प्रतिष्ठानको स्थापना

महोत्तरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान मधेस प्रदेशमा स्थापना भएको छ । मधेस प्रदेशको मुख्य मुद्दा चुरे संरक्षण र विकासलाई विशिष्टकृत गर्ने उद्देश्यले प्रदेशका चुरे क्षेत्रलाई ध्यानमा राखेर बिहीबार बर्दिबासमा औपचारिक स्थपना भएको हो ।

चुरे संरक्षणमा लामो समयदेखि निक्कै चासो देखाउँदै आएका पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मधेस प्रदेशमा स्थापना भएको उक्त प्रतिष्ठान ठूलो उपलब्धि भएको बताए । ५ पुस २०७६ मा पोखरेलले मधेस प्रदेशमा चुरेको समस्या झांगिँदै गएकोप्रति ध्यानाकर्षण जनाउँदै सरोकारवाला निकायलाई भेला गराएर बृहत् छलफलसमेत गराएका थिए ।

२०७६ सालदेखि आफूले चालेको अथक प्रयास आज आएर सफल भएकोप्रति खुसी व्यक्त गर्दै चुरे संरक्षण र विकासमा यो प्रतिष्ठान कोसेढुंगा सावित हुनेमा नेता पोखरेलले विश्वास ब्यक्त गरे । नदीजन्य वस्तु बेचेर समृद्धको परिकल्पना गर्न नसक्नेतर्फ ध्यानाकर्षण जनाउँदै नेता पोखरेलले भने- ‘उत्खनन गर्दा राज्यको नियन्त्रणमा रहेर गर्नुपर्छ तर गर्न हुँदै, हुँदैन भनेको चाहिँ हैन ।’ चुरे संरक्षणको लागि हरित अभियानमा ध्यान  दिनुपर्ने नेता पोखरेलको सुझाव छ । यसअघि मधेसमा तीन लाख बिरुवा रोपेर त्यस्को औपचारिक सुरुवात गरिएको उनले बताए । 

नेपाल एकेडेमी विज्ञान, प्रविधिका प्राध्यापक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान मधेस प्रदेशका ब्यवस्थापन समितिका अध्यक्ष पारसनाथ यादवले पनि चुरेको समस्या जटिल बन्दै गएको बताए । सबैभन्दा उत्तम पारिस्थितिक प्रणाली रहेको चुरे क्षेत्र नासिँदै जानु मानव अस्तित्वमै संकट सिर्जना हुनेतर्फ उन्मुख भएको बताउँदै प्रा.डा. यादवले ४० देखि ५० लाख जनसंख्या यही क्षेत्रमा रहेको बताए । ३६ जिल्लामा फैलिएको चुरे क्षेत्रमा ७२ प्रतिशत जंगल छ भने नेपालको कुल भूभागको १३ प्रतिशत क्षेत्रफल चुरेले नै ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस