तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान हुँदैन : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, ११ : ४८
तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान हुँदैन : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोहको अवसरमा शनिबार  क्याम्पस आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने धारणा राखेका थिए ।

विश्वविद्यालयमा पहुँचको भरमा नियुक्ति हुनु राम्रो नभएको भन्दै पौडेलले विश्वविद्यालयमा आफ्नो क्षमता र योग्यता सिद्द गरेर प्रतिस्पर्धाबाटै, सक्षम व्यक्ति आउने कुरा स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए । महिलाहरूको मुलतः अध्ययन र अध्यापन गराउने छुट्टै विश्वविद्यालयको रुपमा अघि बढाउन राखेको पद्यकन्या क्याम्पसको प्रस्ताव आफूले अघि बढाउने भन्दै मन्त्रि पौडेलले चीनमा पाँच लाख जनता बराबर एउटा विश्वविद्यालय र  भारतमा १४ लाख जनता बराबर एउटा विश्वविद्यालय रहेको बताए ।

नेपालमा झण्डै २० लाख बराबर एउटा विश्वविद्यालय रहेको तर  पनि नेपालमा विश्वविद्यालय धेरै भए भनेर आलोचना हुने गरेको उनको भनाइ थियो । मन्त्रि पौडेलले अघि भने, दिनहुँजसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरिरहेका छन् । नेपाली संस्कार अनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् । तालाबन्दीले विश्वविद्यालयको विकास हुँदैन  तालाबन्दी संस्कारको अन्त्य गर्नुपर्छ,उनले भने । सहमतिबाटै देशका ठूला–ठूला काम भएको स्मरण गराउंदै उनले तालाबन्दी नगर्ने बाटो अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।

मन्त्री पौडेलले पद्यकन्या बुलेटिन, संस्कृति विभागले तयार पारेको भ्वाइस अफ कल्चर, जर्नल र अङ्ग्रेजी विभागले तयार पारेको माइण्डस स्केप्ट जर्नल पुस्तकहरुको लोकार्पण गरेका थिए भने  कार्यक्रममा विशिष्ट व्यत्तित्वहरूलाई पुरस्कार तथा सम्मानसमेत  गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस