महिला साफः पाकिस्तानको सान्त्वना जित

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १५ : ४५
महिला साफः पाकिस्तानको सान्त्वना जित

काठमाडौँ । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपमा फुटबलमा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ। मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७–० ले पराजित गर्दै पाकिस्तानले प्रतियोगितामा पहिलो जित निकाल्यो। यद्यपि प्रतियोगिताबाट पाकिस्तान र माल्दिभ्स भने बाहिरिसकेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले एक–एक गोल गरेका थिए।

खेलमा पहिलो हाफको ३९ औं मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुवाती अग्रता दिलाउँदा दोस्रो हाफमा पाकिस्तानले थप गोल गरेको थियो। ४८ औँ मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन्।

५३ औँ मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तान ३–० ले अघि रह्यो। खेलको ७८ औँ मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४–० को अग्रता दिलाइन्। खेलको ८४ औँ मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५–० मा पुर्‍याउँदा छैटौँ गोल ९० औँ मिनेटमा नाडियाले गरेकी थिइन्।

त्यसपछि खेलको इन्जुरी समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ८–० ले विजयी रह्यो। यस जितसँगै पाकिस्तानले महिला साफको सुखद् अन्त्य गरेको छ। पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको हो। यो समूहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्दा समूह विजेताका लागि अन्तिम खेलमा साँझ ५ः३० मा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस