गठबन्धनमा भागबन्डा भइसकेपछि मात्र काँग्रेसले उम्मेदवार चयन गर्छ : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, २० : ३१
गठबन्धनमा भागबन्डा भइसकेपछि मात्र काँग्रेसले उम्मेदवार चयन गर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली काँग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् ।

उनले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए । गृहमन्त्री खाँणले नेपाली काँग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरुका लागि उम्मेदवारहरु सिफारिस भने गरिरहेका बताए ।

उनले भने, ‘निर्वाचनमा दलहरुको बीचमा गठबन्धनमा छौँ । पहिला हामीले कुन निर्वाचन क्षेत्रमा कुन जिल्लामा कुन पार्टीको उम्मेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ । र गठबन्धनको पनि कार्यदल बनेको छ । कार्यदल छलफलमा नै छ ।’

उनले थपे, ‘छलफल गरिसकेपछि कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा कुन पार्टीले प्रतिनिधि सभामा उठ्ने, कुन पार्टीले प्रदेश सभामा उठ्ने त्यो कुराको टुंगो लागिसकेपछि हामीले आफ्नो पार्टीको कस–कसलाई उम्मेदवार गराउने त्यो कुराको टुंगो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस