सुकुम्बासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसी मिलेको छ: मेयर दाहाल

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १७ : ५६
सुकुम्बासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसी मिलेको छ: मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्बासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसीको अनुभूति मिलेको बताएकी छन । भरतपुर २ स्थित देवकोटा चोकमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले आयोजन गरेको लालपुर्जा प्राप्तपछि शुभकाम तथा बधाई कार्यक्रममा मेयर दाहालले लालपुर्जा वितरणको कार्यमा अभिभावक बन्न पाउँदा धेरै खुसी मिलेको उल्लेख गरिन् ।

‘लालपुर्जा पाउँदा तपाईहरु जति खुसी हुनुहुन्छ, त्यो भन्दा बढी म खुसी छु, उहाँले भन्नुभयो,‘हामीले जे बोल्यौ, त्यही गरौँ । अब भरतपुरका सबै सुकुम्बासीले लालपुर्जा पाउनु हुन्छ ।’मेयर दाहालले विगतमा लालपुर्जा दिने आश्वासन दिने तर काम नगर्ने परिपाटीले गर्दा सुकुम्बासीलाई लामो समयसम्म काम हुने कि होइन भन्ने ठुलो चिन्ता थियो, तर अहिले सबै भ्रमहरु हटेर गएको बताइन् ।

स्थानीय तह निर्वाचन अघि नाटक गर्न निस्सा वितरणको नाटक मञ्चन गर्न आएका हुन् भनी विरोधीहरुले भ्रम सिर्जना गरेपनि लालपुर्जा दिई बोलेको कुरा पुरा गरेको उनको भनाई थियो ।भरतपुर वडा नम्बर दुईबाट भरतपुर महानगरपालिकामा लालपुर्जा वितरण गरी नयाँ इतिहास रच्न सफल भएको उनले बताइन् ।

भरतपुर ११ मा नापजाँचको काम सुरु भइसेकेकाले अबको केही समयमा लालपुर्जा वितरण गरिने उनले जानकारी दिईन्। महानगरपालिकाले अधुरो कामलाई पुरा गरी भरतपुरका २९ वटै वडामा सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने उल्लेख गरिन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अग्रसरताको कारण लालपुर्जा वितरण गर्न सकिएको बताए। यो आयोगले सबै सुकुम्बासीलाई प्रकृया पुराएर भूमिपति बनाएरै छाड्ने गरी आफ्ना कार्यलाई अगाडि बढाएको उनको  भनाई छ ।

कार्यक्रममा सहजीकरण समितिका सदस्य राजन श्रेष्ठ, डिबी परियार, गोपाल कुँवरले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष छविलाल देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।  

प्रतिक्रिया दिनुहोस