महाअभियोग सिफारिस समितिको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ११ : १४
महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि बनेको महाअभियोग सिफारिस समितिको बैठक आज मंगलबार पनि बस्ने भएको छ ।

समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार दिउँसो २ बजे बैठक बोलाइएको छ । बैठकमा भदौ १ गतेको बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची रहेको छ ।

‘महाअभियोगउपर कुन दिन के गर्ने, कति दिनमा सक्ने भनेर कार्यतालिका पेस गर्ने र पास गर्ने हाम्रो प्रयास रहन्छ’ –विष्टले भन्नुभयो । बैठकमा समितिको सभापति चयन गर्ने विषय पनि उठ्न सक्ने जनाइएको छ । समितिको पहिलो बैठकमा पनि सभापतिको विषय उठेको थियो ।

समितिले प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी साउन २२ मा पाएको थियो । जिम्मेवारी पाएको ९ दिनपछि समितिको पहिलो बैठक बसेको थियो । २०७८ को फागुन १ मा ९८ जना प्रतिनिधिसभा सांसदहरूले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । उक्त प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो ।

प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको थियो । समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकेर सिफारिस गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस