पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन, यथावत् नै रहन्छ : नेपाल आयल निगम

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १९ : ३५
पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन, यथावत् नै रहन्छ : नेपाल आयल निगम

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगम घाटामा रहेका कारण मूल्य नघटाइने निगमले जनाएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिलिटर पेट्रोलमा २.८७, मट्टितेल र हवाई इन्धनमा केही नाफा भए पनि समग्रमा निगम घाटामा रहेका कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने निगमले जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नयाँ मूल्यसूचीबमोजिम निगमलाई प्रतिलिटर पेट्रोलमा रु २.७८ नाफा, डिजेलमा ९.३७ घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४९९.५७ घाटा भई समग्रमा अझै पनि निगमलाई आगामी १५ दिनमा करिब रु ६३.५८ करोड (मासिक १ अर्ब २७ करोड घाटा) हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राख्नुपर्ने बाध्यात्मक अवस्था निगम सामु रहेको छ ।’

निगमले नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट पाएको ३ अर्ब ऋण इण्डियन आयल कर्पाेरेसनलाई बुझाउँदा पनि अझैँ बक्यौता रकम २३ अर्ब रूपैयाँ बुझाउनुपर्ने विज्ञप्तिमार्फत जनाएको छ । निगमले विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थहरुको खपत सकेसम्म कम गरी वैकल्पिक स्वदेशी ऊर्जाको प्रयोग बढाउनुपर्ने पनि निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस