बझाङका टेलिकम टावरमा पावर नहुँदा ‘फोर जी’ सेवा प्रभावित

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १३ : ३०
बझाङका टेलिकम टावरमा पावर नहुँदा ‘फोर जी’ सेवा प्रभावित

काठमाडाैँ । बझाङभरी नेपाल टेलिकमका २१ वटा टावर छन् । जसमध्ये १७ वटा टावरमा उच्च गतिको इन्टरनेट फोर जी सेवा जडान गरिएको छ । तर, टावरमा नेटवर्क सुचारु गर्न पावर अर्थात् विद्युत् छैन ।

प्रयाप्त विद्युत् नहुँदा जनताले फोर जी सेवा उपभोग गर्न पाएका छैनन् । हिउँद र बर्खामा फोनको नेटवर्कसमेत नियमित हुँदैन । जिल्लाभर नेपाल टेलिकमका २१ वटा टावरहरु छन् । तर, १६ ओटा टावर सोलारको भरमा चल्छन् । यी टावरहरूमा विजुली पुगेको छैन । जिल्लाका विभिन्न उच्च स्थानमा राखिएका यी टावर सञ्चालनका लागि सोलार जडान गरिएका छन् ।

हिमाली जिल्लामा हिउँदमा निरन्तर हिमपात हुन्छ । बर्खामा लगातार पानी पर्छ । प्रयाप्त घाम नलाग्दा सोलारको व्याट्रि चार्ज हुन पाउँदैनन् । जतिसम्म ब्याट्रीले धान्छ त्यतिबेलासम्म मोबाइलमा नेटवर्क हुन्छ । ब्याट्री सकिएपछि नेटवर्क जान्छ । कतिबेला बझाङबासीले सञ्चारविहीन हुनुपर्ने हो टुंगो हुदैन । फेरि नेटवर्क आउनका लागि बझाङमा घाम नै लाग्नुपर्छ । घाम नलागेसम्म नेपाल टेलिकमको नेटवर्क आउँदैन । घटना, दुर्घटना, आपत, विपत आइपरे पनि बाह्य संसारलाई जानकारी गराउन घाम पर्खि नै पर्छ । 

जिल्लाका काडा, रिलुकोट, देवल, पारकाट्ने, धारी, दहबगर, सिउकोट, केदारलेक, बाता लेक, काइरालकोट, कफलसेरीलगायत १७ वटा नेपाल टेलिकमका टावरमा सोलार प्यानल जडान गरिएका छन् । यी टावरहरूमा निरन्तर नेटवर्क अनियमित हुन्छ । यीमध्ये अधिकांश टावरमा फोर जी सेवासमेत जडान गरिएको छ । फोनको नेटवर्क नै नियमित नहुने ठाउँमा फोर जी सेवा प्रभावकारी हुन सक्ने कुरै भएन । फोर जीको नियति पनि उही नेटवर्कको जस्तै छ । घाम, पानीसँग लुकामारी खेलिरहेको छ बझाङमा फोर जी इन्टरनेट सेवा पनि ।

जिल्लाका १७ वटा टावरमा फोर जी इन्टरनेट सेवा जडान गरिएको नेपाल दुरसञ्चार प्राधिकरण बझाङका सहायक व्यापार अधिकृत बमबहादुर सिंह बताउँछन् । तर, प्रयाप्त विद्युत नहुँदा एउटा टावरले समेत राम्रोसँग फोरजी सेवा दिन नसकेको सिंहको भनाइ छ ।

हेमन्तवाडा, लेकगाउँ, चैनपुर, सुवेडा, दौलीचौरको टावरमा विद्युत पुगेको भएपनि विद्युत नियमित नहुँदा नेटवर्क तथा इन्टरनेट सेवा प्रवाहमा समस्या हुने गरेको सिंह बताउँछन् । दौलीचौरको टावरमा फोर जी सेवा जडान गरिएको छ । तर, गाउँपालिका कार्यालय क्षेत्र भएको स्थानमा फोर जीले काम गर्दैन । गाउँपालिकाभित्रका अधिकांश वस्तीमा फोर जीले काम नगर्ने स्थानीय बताउँछन् ।

दौलीचौरको गाउँपालिका कार्यालय भएको स्थानमा इन्टरनेट पहुँच पुर्याउनका लागि थप एउटा एन्टिना जडान गर्नुपर्ने अधिकृत सिंहले बताए । ‘गाउँपालिका कार्यालय फोर जी पुर्याउनका लागि थप एउटा एन्टिना राख्ने योजना छ । तर, बर्खाको बेला बाटो सहज नभएकोले काम गर्न सहज छैन । अब बर्खा सकिने बित्तिकै एन्टिना जडान गर्दैछौँ,’ सिंहले भने 

फोर जी नेटवर्क सबै कम्पनीका मोबाइलमा काम गर्दैन । यो समस्या जिल्लाभर नै छ । यसको कारण पनि उच्च भोल्टेजको विद्युत् नहुनु नै भएको अधिकृत सिंहको भनाइ छ । ‘सोलारको पावरबाट ८ सय मेगाहर्जको इन्टरनेटलाई मात्र काम गर्छ । त्यो भन्दाबढी मेगाहर्जको इन्टरनेटका लागि बिजुली नै चाहिन्छ । त्यसैले यस्तो समस्या देखिएको हो । पर्याप्त विद्युत नभएसम्म यसको समाधान केहि छैन,’ सिंहले भन ।

प्रतिक्रिया दिनुहोस