विभिन्न स्थानको बाढी पहिरो र घटनाबारे गृहमन्त्री खाणको चासो

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १५ : १५
विभिन्न स्थानको बाढी पहिरो र घटनाबारे गृहमन्त्री खाणको चासो

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले कास्की, प्यूठान र पाल्पामा निरन्तरको वर्षापछि गएको पहिरोले पुर्याएको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन भइरहेका पहलबारे जानकारी लिएका छन् । 

त्यस्तै काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत्यु भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिएर घटनाबारे अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिए । गृहमन्त्री खाणले लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग पहिरोबाट गएको क्षति र तत्कालका लागि राहत तथा नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन गरिएको पहलबारे जानकारी लिए । उनले उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि बताए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसँग काभ्रेस्थलीमा एकै परिवारमा चारजना मृत फेला परेको अवस्थाबारे जानकारी लिए ।प्युठानको जुम्रीमा तथा बुटवल–पाल्पा पर्ने सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाएर सडक सुचारु गर्ने विषयमा उहाँले नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उपाध्याय र सशस्त्रका लुम्बिनी प्रदेश प्रमुख नेम्वाङसँग जानकारी लिए । प्रहरी, सशस्त्र र स्थानीयको पहलमा अहिले पहिरो हटाएर सडक सुचारु गराउने काम भइरहेको डिआइजी उपाध्यायले बताए । 

यता कास्कीको  पोखरा महानगरापालिका–१६ डिहिगोपाटनमा अवस्थित लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र घाइते भएकाहरूबारे प्रजिअ आचार्यसँग गृहमन्त्री खाणले जानकारी लिए । घर पुरिएका सन्तोषकी दिदी सुनिता सुनार घाइते भएका छन् । घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रजिअ आचार्यले बताए । 

कास्कीमा परेको निरन्तरको वर्षाका कारणले पोखरा– १३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन् । घरहरू डुबानमा परे पनि मानवीय क्षती भएको छैन । डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको कास्की प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस