पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १२ : ०२
पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

काठमाडौं । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए दर्शनका लागि लाखौँ भक्तजन अहिले पनि पशुपति क्षेत्रमा लाममा बसेको उनको भनाइ थियो । 

भक्तजनलाई सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ । बिहान तीन बजेदेखि मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजनलाई वर्षाले केहीबेर असर पारेको थियो । विगतका दुई हप्तामा भन्दा आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको भीड लागेको छ । बोल बम यात्रीको पशुपति क्षेत्रमा भीड लागेपछि बिहान लाम गुह्येश्वरी मन्दिरसम्म पुगेको थियो । 

बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छु्याइएको छ । सुन्दरीजलबाट पहेँलो एवं हरियो बस्त्र पहिरिएका भक्तजन लाम लागेर खाली खुटृा आएको दृश्य देखिन्थ्यो । उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका थिए । केही भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् ।साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेषगरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजाआराधना गर्ने गर्छन् । 
 
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान ४ बजेदेखि नै यी मन्दिरको ढोका खुला गरिएको थियो ।यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घर घरमा रुद्राभिषेक पनि गर्ने गर्छन् ।
 

प्रतिक्रिया दिनुहोस