विवाहेत्तर सम्बन्धले टुट्दै परिवार

पत्रपत्रिकाबाट

आइतबार, १५ साउन २०७९, ०७ : ५०
विवाहेत्तर सम्बन्धले टुट्दै परिवार

काठमाडौं । गत असार ११ गते गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिइन्। प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मि श्रका अनुसार उनका प्रेमी भनिएका सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठले नै हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

प्रहरीका अनुसार मृतक सुनार र श्रेष्ठको २ वर्षदेखि प्रेम सम्बन्ध थियो। विवाहित सूर्य र सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी गायिका सुनारबीचको घनिष्टताले श्रेष्ठ परिवारमा समस्या आइरहेको थियो। श्रेष्ठको घरमा श्रीमती र ४ जना छोराछोरी छन्। मृतकका आफन्तका अनुसार श्रेष्ठ श्रीमान्कै परिचयमा सुनारको कोठामा आउजाउ गर्थे। घटनाको दिन पनि उनीहरू सँगै थिए। परिवारका अनुसार श्रेष्ठलाई सुनारले विहे गर्न दबाब दिएपछि हत्या भएको हो।

त्यस्तै, गत असार २६ गते अन्नपूर्ण गाउँपालिका–७ कास्कीको जंगलमा बनेपाको दिवाकर थापा र सुदिना कर्माचार्य एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परे। बनेपाका उनीहरू कास्की गएर आत्महत्या गर्नुपर्ने एउटै कारण थियो। उनीहरूबीचको विवाहेत्तर सम्बन्ध। घटनाको अनुसन्धानका क्रममा दिवाकर र सुदिना प्रेम सम्बन्धमा रहेको खुल्न आएको थियो। दिवाकरको श्रीमती अस्टेलियामा छन् भने सुदिनाको श्रीमान् बनेपामै व्यापार व्यवसाय गर्ने गर्छन्।

त्यस्तै, गत फागुनमा पाँचथर मिक्लाजुङ–१ की ३९ वर्षीया सुमित्रा तामाङ धरानको एक होटलमा मृत भेटिइन्। इटहरी–५ जनता बस्तीमा डेरा गरी बस्ने उनको हत्या भएको प्रहरीको दाबी छ। वैदेशिक रोजगारीका लागि उनका श्रीमान् बु्रनाइमा रहेको र उनी भूपू इन्डियन आर्मीसमेत भएको खुलेको छ। छोराछोरी पढाउन इटहरी झरेकी तामाङ परपुरुषसँग सम्बन्ध राखेकै कारण मारिइन्। हत्या आरोपमा उनका प्रेमी प्रहरी हिरासतमा छन्।

यस्तै, गत फागुनमा इलाम चुलाचुलीका दिनेश सिग्देलको शव धरान, धनकुटा सडकखण्डको जंगलमा फेला परेको थियो। हत्या आरोपमा उनको श्रीमती अनिता केसी र अनिताको प्रेमी सरोज भण्डारी प्रक्राउ परेका छन्। रोजगारीको शिलशिलामा बिदेसिएका दिनेश अनितासँग १० वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए। उनको हत्या भने पुस २२ गते नै गरिएको थियो। विदेशबाट फर्किएकै दिन पैसाको विषयमा श्रीमतीसँग विवाद भएको र अर्को दिन अनिताले प्रेमीलाई बोलाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस