अपांगता भएकाहरूका लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १९ : १०
अपांगता भएकाहरूका लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपांगता भएकाहरूका लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता जनाएका छन्। काठमाडौंमा शनिबार भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा अपांगहरूको संख्या धेरै रहेको र अपांग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए। उनले पछिल्लो समय सरकारले अपांग भएकाहरूलाई पनि जीवनवृद्धिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भए पनि बजेटअनुसार निर्धारण गरिएको बताए।

गृहमन्त्री खाँणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए। उनले आर्थिक र शारीरिक रूपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताए।

गृहमन्त्री खाँणले नेपालका आधुनिक कार्यालय अझै पनि अपांगमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयमा अपांगमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताए।

उनले सरकारले विस्तारै अपांगमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताए। गृहमनन्त्री खाँणले राष्ट्रिय अपांग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्ने पनि बताए। उनले राष्ट्रिय अपांग कोष र समाजकल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहलाई निर्देशन दिए।

उनले भने, ‘नेपालमा अपांगहरूको संख्या पनि धेरै छ। अपांग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने ? भन्ने ठूलो कुरा हो। पछिल्लो समय सरकारले अपांग भएकाहरूलाई पनि जीवनवृद्धिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको छ। त्यो अपुग होला तर हाम्रो बजेटअनुसारको छ। हामीले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी छ। आर्थिक रुपमा, बेरोजगार भएर जो कमजोर छ, त्यसलाई कसरी माथि उठाउने ? हामीले अपांगता भएकाहरूको लागि पनि सोच्नुपर्छ र जिममेवारी लिनुपर्छ भन्नेकुराको बच्चाकालदेखि नै स्कुलिङ हुन जरुरी छ। अहिले नेपाल सरकारको सबै कार्यालयहरूमा अपांगमैत्री भवन बनोस् भन्ने हामीले निर्देशन दिइसकेका छौँ। हाम्रो आधुनिक कार्यालय पनि अपांगमैत्री छैन। सावर््जनिक स्थलमा अपांगमैत्री शोचालयको पनि खाँचो छ। सरकारले बिस्तारै अपांगमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको छ। नेपाल सरकारले अपांगका लागि पनि बजेटको भोलम बढाउने छ। यसको लागि हामी पहल गर्नेछौँ।’

कार्यक्रममा राष्ट्रिय अपांग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपांगता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताए। उनले संसारका कुनै पनि देशमा अपांगता भएको नागरिक पहिलो दर्जाको नागरिक हुने गरे पनि नेपालमा त्यसको विपरीत अवस्था रहेको बताए। अध्यक्ष भट्टराईले ३३ लाखभन्दा बढी अपांग आबद्ध रहेको संस्था निरीह अवस्थामा पुग्नु दुःखद भएको बताए। उनले हालै राष्ट्रिय अपांग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएकाले सहयोगको अपेक्षा गरेको र पुनर्निर्माण हुनेमा विश्वस्त रहेको बताए।

उनले भने, ‘भिन्न क्षमता भएका नागरिकका लागि सहयोग गर्दै आएको राष्ट्रिय अपांग कोष केवल नाम मात्रैको भएको छ। यसको अवस्था जीर्ण छ। संसारका कुनै पनि देशमा अपांगता भएको नागरिक पहिलो दर्जाको नागरिक हुन्छ तर नेपालमा अझै पनि अपांगता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिइन्छ। ३३ लाखभन्दा बढी अपांगता रहेको संस्थाको एक मात्र सरकारी निकाय आज निरीह अवस्थामा छ। भर्खरै राष्ट्रिय अपांग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएको छ। यसलाई पुनर्निर्माणका लागि सहयोग हुनेछ भन्ने आशा गरेको छु।’

हस्तान्तरण भएका सामग्रीमा ८ वटा एम्बुलेन्स छन्। जसमा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत उच्च स्तरको एम्बुलेन्समा हुने सेवा छन्। यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिने व्यवस्था छ। यसमा सिसिटिभीको समेत जडान गरिएको छ। यी एम्बुलेन्स सबै प्रदेशमा एक एक वटाका दरले प्रदान गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ। त्यस्तै विपद्पछि उद्धारका लागि आवश्यक सर्च एण्ड रेस्क्यू उपकरण पनि हस्तान्तरण गरिएको छ। राष्ट्रिय अपांग कोषलाई अपांगता सहायता सामग्री ह्विलचेयर, कुत्रिम हातखुट्टा लगायत सामग्री हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस