राष्ट्रपति भण्डारीलद्वारा उत्तरगयामा पूजाअर्चना

रासस

शुक्रबार, ०६ साउन २०७९, १५ : २५
राष्ट्रपति भण्डारीलद्वारा उत्तरगयामा पूजाअर्चना

नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गरेकी छन । नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा उनले जानकारी लिएकी हुन। आज बिहान नुवाकोट सदरमुकाम विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकप्टरमा आएकी राष्ट्रपति भण्डारी विदुरदेखि बेत्रावतीसम्म गाडीमा गएकी हुन । बेत्रावतीमा उनलाई रसुवा जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याललगायतले स्वागत गरेका थिए । 

राष्ट्रपति भण्डारीले रसुवा उत्तरगया गाउँपालिका–५ मा रहेको राममन्दिर र विष्णु पादुकामा पूजा गरेका थिए । मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवाका कुरा सुनेपछि उनले उत्तरगया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र सङ्घीय सरकारलाई पनि जानकारी गराउने बताइन । राष्ट्रपति भण्डारीले बेत्रावतीस्थल धार्मिक हिसाबले महत्वपूर्ण स्थान भएकाले यसको विकासमा चासो दिएकी थिइन । 

जिसस प्रमुख घिमिरेले यहाँकोे धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराए। उनले यस स्थललाई बृहत् धामको रुपमा विकास गर्नका लागि भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीसमक्ष आग्रह गरे । जिसस प्रमुख घिमिरेले भने, “यहाँको बृहत्तर विकासको खाँचो छ । राष्ट्रपतिको भ्रमणले यसको प्रचारमा समेत टेवा पुग्ने छ ।”

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बेत्रावती क्षेत्रकोे बृहत विकासका लागि स्थानीय सरकारको स्रोत र साधनले नभ्याउने भएकाले सङ्घीय सरकारले नै गुरुयोजना बनाएर लगानी गर्नुपर्नेमा जोड दिँदै पहलका लागि राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए। राममन्दिर संरक्षण समितिका अध्यक्ष सोमलाल लबटले राममन्दिरको गुठीलाई राजगुठी बनाउन पहल गरिदिन अनुरोध गरे । 

स्थानीयवासीले राष्ट्रपतिसमक्ष उत्तरगया क्षेत्रको विकासका लागि सरकारले चासो नदिएको, गल्छी–त्रिशूली–र सुवागढी त्रिदेशीय राजमार्गको निर्माणमा ढिलो भएको र स्थानीयवासीले मुआब्जासमेत नपाएको गुनासो गरेका थिए । 
    
राष्ट्रपति भण्डारीले उत्तरगयाधाम अवलोकन पछि विदुरस्थित सैन्य तालिम केन्द्रमा जिल्लाका सङ्घीय र प्रदेश सांसद, जिसस प्रमुखलगायत जनप्रतिनिधि र प्रशासन प्रमुखसँग जिल्लाको वस्तुस्थितिको बारेमा अनौपचारिक कुराकानीसमेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस