उदयपुरमा सम्बन्ध विच्छेदका मुद्दा भयावह

पत्रपत्रिकाबाट

सोमबार, ०२ साउन २०७९, ०८ : १८
उदयपुरमा सम्बन्ध विच्छेदका मुद्दा भयावह

उदयपुर । उदयपुरमा सम्बन्ध विच्छेद घटना झाँगिदै गएको छ। जिल्ला अदालत उदयपुरमा आर्थिक बर्ष ०७८र७९ मा दर्ता भएका मुद्दामध्ये दुनियाबादी देवानी मुद्दा अन्तर्गत ४४ प्रतिशत मुद्दा सम्बन्ध विच्छेद रहेको तथ्यांकले देखाएको हो।

गत आर्थिक वर्षमा अदालतबाट भएका न्याय सम्पादनका विषयमा आयोजित समीक्षा कार्यक्रममा श्रेष्तेदार धनबहादुर कार्कीले सबै प्रकृतिका मुद्दाको कुल २६।२९ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको बताए। देवानी मुद्दाअन्तर्गत १ हजार २१३ मुद्दामध्ये ५३२ वटा मुद्दा सम्बन्ध विच्छेदको रहेको छ। त्यसमध्ये नयाँ ४१४ र पुराना जिम्मेवारी सरेर आएका ११८ वटा रहेका छन्।

दर्ता भएका मुद्दामध्ये ४२२ थान फर्स्यौट भएको र बाँकी ११० थान जिम्मेवारी सारिएको श्रेष्तेदार कार्कीले बताए। त्यसैगरी सरकारवादी फौजदारी मुद्दा अन्तर्गत जिम्मेवारी सरेकासहित ५१५ थान मुद्दामा लागुऔषधका मुद्दा सबैभन्दा बढी ११८ अर्थात २३ प्रतिशत र जबर्जस्तीकरणीका १०५ अर्थात २०।३८ प्रतिशत मुद्दा रहेको उनले बताए।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश दिपक खनालले स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्ध विच्छेदका घटनाले प्रशय पाएको बताए। उनले सम्बन्ध विच्छेदका मुद्दा बढ्नुको मुख्यकारण वैदेशिक रोजगार, अन्तरजातीय विवाह, नागरिकतामा श्रीमानको नाम हटाउनका लागि र बालविवाह रहेको बताए।

उनले भने, ‘सकेसम्म पुनः घरबार होस् भनेर हामीले मेलमिलाप गराउने प्रयास गरेका छौं, तर परिस्थिति सोचेअनुरुप नभएपछि एउटा निर्णय गर्न बाध्य छौं।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस