गुणस्तर सुधार्न आमाहरूलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

रासस

शुक्रबार, २४ असार २०७९, २१ : ५१
गुणस्तर सुधार्न आमाहरूलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

काठमाडौं । संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र रु दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि आमाको अहम् भूमिका हुन्छ ।

बालबालिका हुर्किएर विद्यालय जान थालेपछि उनीहरुको शैक्षिक उन्नयनका लागि अभिभावक विद्यालयप्रति विश्वस्त हुन्छन् । आमा–बाबा घर, व्यवसाय र कार्यालयका काममा व्यस्त हुनुपर्ने बाध्यता पनि छ । जाँगरिलो  र पेसाप्रति प्रतिबद्ध शिक्षकले अभिभावकको त्यो विश्वासलाई आफ्नो कर्तव्यमा रुपान्तरण पनि गरिरहेका हुन्छन् । विद्यालयको एक्लो प्रयासले विद्यार्थीको गुणस्तरीय शिक्षाको लक्ष्य पूरा हुन सक्दैन ।  
शिक्षाविद् प्रा डा विनयकुमार कुसियतले आफूले पढाइमा ढिलासुस्ती गर्दा आमाले सम्झाउने गरेको र त्यसबाट प्रेरित भएको हालै एक आलेखमा व्यक्त गरेका छन्। “बाबु तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगेँ । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहान्छु ।” आमाका ती भनाइलाई डा कुसियतले सम्झनुमात्र भएको छैन, नयाँ पुस्ताका लागि प्रेरणा मिलोस् भनेर सार्वजनिक गरेका छन् ।

शैक्षिक गुणस्तर सुधारमा आमाहरुको त्यही भूमिकालाई विद्यालयले अनुभूत गर्ने गरी प्रयोग गराउन पहल हुन थालेको छ । काठमाडौंको मुटु पद्मोदयमोडस्थित पद्मोदय माध्यमिक विद्यालयले विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका आमाहरुलाई बोलाएर आजदेखि बालबालिकाको शिक्षाबारे विमर्श सुरु गरेको छ । विद्यालय र घरमा बालबालिका कसरी पढिरहेका छन् रु त्यसबारे अभिभावकसँग सामुदायिक विद्यालयमा कमै मात्रामा दोहोरो संवाद हुने अवस्थामा उक्त विद्यालयको निमन्त्रणालाई आमाहरुले सहर्ष स्वीकारेर शिक्षा सुधारको यात्रामा सामेल हुने सङ्कल्प गरेका छन् ।  

‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने आदर्श वाक्य बोकेको यस ऐतिहासिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले आमाहरू सक्रिय नभई विद्यार्थीले राम्रोसँग सिक्न नसक्ने पक्षलाई आत्मसात् गरेर चरणबद्धरुपमा आमाहरुको भेला आयोजना गरिएको र यो प्रयोगलाई निरन्तरता दिने बताए । “छोराछोरीले गृहकार्य गरेका छन् कि छैनन् भनेर नियमित हेर्दिनु । सफासुग्घरमा ध्यान दिन लगाउनु । विद्यालयले नबोलाए पनि समय समयमा आएर सोधपुछ गर्दिनु ।” आमाहरुसँगका अपेक्षा राससलाई सुनाउँदै प्रधानाध्यापक गौतमले भने । 

आमा समूहको बैठकमा सहभागी निर्मला खत्रीले यस प्रकारको बैठक विद्यालयमा पहिलो पटक भएको र यसमा बच्चाहरुको पढाइबारे शिक्षक र अभिभावकबीच दोहोरो संवादको अवसर मिलेको प्रतिक्रिया दिइन् । अभिभावक शिक्षक सङ्घकी सदस्य खत्रीका दुई सन्तान सोही विद्यालयमा अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र ९तुल्सीप्रसाद० अवस्थीले पढाइमा सुधार ल्याउन अभिभावकलाई बोलाएर विद्यार्थीका समस्या बुझ्ने र समाधान गर्ने कोसिस भइरहेको बताए । आधारभूत तहदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइने सो विद्यालय स्थानीय व्यापारी र व्यवसायीका छोराछोरी बढी अध्ययन गर्छन् । 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रधानन्यायाधीशहरु केदारनाथ उपाध्याय, अनुपराज शर्मा, पूर्वमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, कमल थापा, कलाकारहरु हरिवंश आचार्य, मनोज गजुरेल, रामकृष्ण ढकालका पूर्वविद्यालयको रुपमा रहेको  पद्मोदयमा पछिल्लो समयमा विद्यार्थीको सङ्ख्या क्रमशः बढ्दो छ । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा १ देखि ३ सम्म मन्टेश्वरी ढाँचामा सिकाइन्छ । विद्यालयले खेल्दै सिक्दैको मान्यतालाई कार्यान्वयन गरेको छ । विद्यालयमा हाल पूर्वप्राथमिकदेखि कक्षा १० सम्म ४९० र कक्षा ११ र १२ मा ५७० विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारीतर्फ कक्षा १० सम्म ४२ र माथिल्लो कक्षामा २८ जना कार्यरत छन् । 

आठ रोपनी जग्गामा फैलिएको सो विद्यालयले विद्यार्थीको चाप थेग्न कक्षा ६ देखि ९ सम्म भर्ना गर्नुपूर्व प्रवेश परीक्षा लिने गरेको छ । यस वर्ष ती कक्षामा ३५० जनाले प्रवेश परीक्षा दिएकामा १५० नयाँ विद्यार्थीलाई मात्रै भर्ना गरिएको प्रधानाध्यापक गौतमले जानकारी दिए । उनले पुरानो कमला भवन भूकम्पपछि पुनः निर्माण भइनसकेकाले भवन र शिक्षकको अभावका कारण आए जति विद्यार्थी लिन नसकिने बताए । केन्द्रीय सरकारको नमूना विद्यालयको अनुदान पाउने मापदण्डका लागि दुई रोपनी जग्गा नपुग्दा यस विद्यालयले त्यस कार्यक्रममा आवेदन दिन पाएको छैन । 

प्रतिक्रिया दिनुहोस