मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच भेट

रासस

मंगलबार, २१ असार २०७९, १६ : ५५
मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच भेट

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा सङ्घीयता, कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था र सडक गुरुयोजना तयारीलगायतका विषयमा छलफल भएको थियो । खासगरी स्वीट्जरल्याण्ड सरकारले कर्णालीमा सञ्चालन गरेका परियोजना हेर्न आएका राजदूत क्याप्लरले द्वन्द्वपीडितका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामको बारेमा जानकारी लिए। 

“स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सीएमसी नेपालले यहाँका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरेको छ”, राजदूत क्यापलरले भने, “द्वन्द्वपीडितको स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणमा प्रदेश सरकार अझै गम्भीर बन्नुपर्छ ।”

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । उनले राहत, जीवन निर्वाह भत्ता, औषधि उपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा काम गरिरहेको जनाए ।
 

प्रतिक्रिया दिनुहोस