लमजुङको पहिरोले मनाङ यात्रा सकस

रासस

मंगलबार, २१ असार २०७९, ११ : २६
लमजुङको पहिरोले मनाङ यात्रा सकस

लमजुङ  । हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङ तर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ । अधिकांश स्थानमा वर्षा लागेपछि सडक ठाउँ–ठाउँमा पहिरोका कारण अवरुद्ध हुँदै आउने गर्दछ । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन । 

ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्दछ । समय–समयमा पहिरो खस्दा आवतजावत नै बन्द हुने गरेको छ । 

केही समय यतादेखि वर्षाका कारण लमजुङको बेँसीशहर नगरपालिकास्थित खरखरे, मर्स्याङ्दी  गाउँपालिकास्थित  अर्खले, च्याम्चे,  स्याङगे,  सिरचौरलगायतका ठाउँमा पहिरोका कारण सवारी आगमनमा समस्या भएको छ । मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसारपसार गर्नुपर्ने हुन्छ । समयमा सामग्री पुर्याउन नसक्दा  विकास निर्माणका काममा ढिलाइ हुने ठेकेदार कम्पनी क्याराभान कन्सल्टेन्सीका सब इञ्जीनियर नारायण लामाले बताए । प्राकृतिक विपद्ले मनाङको विकास र पुनःनिर्माणको काम पाए पनि बाढीपहिरो र हिमपातले गर्दा समयमा पूरा गर्न नसकिएको उनी बताउछन् ।

वर्षामा बाढी–पहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भएको छ । कहिले हिमपात त कहिले बाढीपहिरोको बहानाले निर्माणमा ढिलाइ गर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

लमजुङ सदरमुकामबाट मनाङको सिमानासम्म कूल ३५ किलोमिटर लमजुङतर्फ यस सडकमा मात्रै करिब ३५ ठाउँमा पहिरो खसेको अवस्था छ । बर्सेनि यो समस्याले मनाङवासीलाई साथै पैदलयात्री पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीय बताउँछन् । सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीलाई चिन्ताको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस