बाजुरामा भेटिए कालाजारका बिरामी, उपचारमा समस्या

पत्रपत्रिकाबाट

शनिबार, ०४ असार २०७९, ०७ : ३९
बाजुरामा भेटिए कालाजारका बिरामी, उपचारमा समस्या

काठमाडौं । बाजुरामा पनि कालाजार रोगका बिरामी भेटिएका छन्। बढी गर्मी क्षेत्रमा देखा पर्ने रोगका बिरामी बाजुराको उत्तरी क्षेत्रमा पनि भेटिएको बुढीनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक आमजंग शाहीले बताएका छन्।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका बिरामीमा कालाजार रोगको लक्षण देखिएको हो। स्वास्थ्य केन्द्रमा कोल्टी क्षेत्रका चारवटा पालिका र छिमेकी मुगु, हुम्ला र कालिकोट जिल्लाका बिरामी पनि उपचारका लागि आउने गरेका छन्। स्वामीकात्तिक खापर गाउँपालिका–३ बस्ने २ वर्षका कपुर ल्वारमा कालाजारको लक्षण देखिएको छ।

उपचारका लागि आएका ल्वारलाई परीक्षणपछि कालाजार रोग देखिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ। कालाजार देखिएका बालकलाई परीक्षणसहित थप उपचारका लागि बाजुरा जिल्ला अस्पतालमा ल्याइएको हो। बाजुरा जिल्ला अस्पतालले पनि ल्वारलाई थप उपचारका लागि धनगढी रेफर गरेको छ। अस्पतालमा औषधि नभएपछि धनगढी पठाइएको बताइएको छ।

बाजुरामा गएको २ वर्षयता १३ जनामा कालाजार देखिएको छ। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १२ र बाजुरा जिल्ला अस्पतालमा १ जना गरी १३ जनामा रोग देखिएको हो। कालाजारका बिरामी स्वामीकात्तिक, खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयमा भेटिएको हो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस