आन्दोलनमा उत्रिए मिटरब्याजका पीडितहरू

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १४ : २०
आन्दोलनमा उत्रिए मिटरब्याजका पीडितहरू

काठमाडौं । मिटरब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन शुरु गरेका हुन्।

साहु जगदीशका दाजुभाइसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडितले बताए।उनले भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आएको बताए।

उनले भने,‘मलाई विदेश पठाउनको लागि बुबाले साहु महाजनसँग कर्जामा १ लाख ५० हजार रुपौया लिनुभएको थियो। डेढ लाख कर्जामा मैले विदेशमा गएर ६ वर्ष बसेँ तर ऋण पूरा गर्न सकेको छैन। मैले ६ वर्षको कमाई १२ लाख जति दिइसके। तर अझै पूरा भएको छैन पैसा देउ। हामीले जग्गा बेचेरसमेत पैसा दिन नसकेकाले न्यायको लागि काठमाडौंमा आएको छौं।’

त्यस्तै, अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मी छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपौयाँ ऋण लिएको बताए। उनले बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको बताए। बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके पनि अहिले ८ लाख माग गरेको गुनासो गरे। जग्गा बचेर भएपनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको पीडितले बताए

आन्दोलनमा आएकाहरुले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गासमेत कब्जा गरेर भूमिहीन भएको बताएका छन्। आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन,जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरु खबदार,मिटर ब्याज लिनेलाई कारबाही गर्,मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहिन बनाउन पाइँदैन,लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस