खेलकुदमन्त्री गहतराजद्वारा शाहीलाई नियुक्ति पत्र हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, २५ जेठ २०७९, १६ : ३४
खेलकुदमन्त्री गहतराजद्वारा शाहीलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त भएका सुवास शाहीलाई आज नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्य पदमा मनोनीत गर्ने निर्णय  गरेको थियो । कार्यक्रममा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपाली खेलकुदकै ‘ड्रिम प्रोजेक्ट’ भएकाले राम्रोसँग जिम्मेवारी बहन गर्न आग्रह गरे । 

त्यस्तै अध्यक्ष सुवास शाहीले निर्धारित समयमा रंगशाला र खेलग्राम निर्माणको कार्य सम्पन्न गराउन आफू दिनरात मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे । शाहीले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे ।  

राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्न सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश-२०७९ जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस