आधा कोर्स पनि नपढाएर एसइई परीक्षा दिँदै धनगढी नमूना माविका विद्यार्थी

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १६ : ३५
आधा कोर्स पनि नपढाएर एसइई परीक्षा दिँदै धनगढी नमूना माविका विद्यार्थी

काठमाडौं । सुदूरपश्चिमको प्रदेशको राजधानी धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमै रहेको धनगढी नमुना प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आधा कोर्स पनि नपढेर एसइई परीक्षा दिन बाध्य छन्।

प्राविधिक शिक्षाअन्तर्गत कक्षा ९ बाटै सिभिल इन्जिनियरिङसमेत सञ्चालन गरिरहेको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पूरा कोर्ष नपढेरै हाल संचालन भइरहेको एसइई परीक्षामा सहभागी छन्।नमूना विद्यालय र प्राविधिक शिक्षाका नाममा राज्यबाट बर्सेनी लाखौँ रुपैयाँ अनुदान पाउने गरेको भए पनि न त नमुना विद्यालयमा हुनुपर्ने मापदण्ड पूरा गरिरहेको छ न त प्राविधिकतर्फको पढाइलाई नै गुणात्मक बनाउन सकेको छ।

खासगरी प्राविधिकतर्फको विज्ञान र गणितको कोर्स आधा मात्र पढाएको त्यहाँ अध्ययनरत विद्यार्थीको गुनासो छविज्ञान पढाउने शिक्षक जयप्रकाश भट्टले विद्यालयको व्यवस्थापनले सहयोग नगर्दा ५० प्रतिशत मात्र कोर्ष पढाएको स्वीकारेका छन्। उनले भने, ‘कोभिडका कारण विद्यालयय संचालन ढिलो भयो, मेरो कोर्स सकिएको छैन भन्दा पनि प्राचार्यले वास्ता गरेनन्।’

तर उनको जवाफ गैरजिम्मेवार रहेको छ। उनले थने, ‘म इमान्दार शिक्षक हुँ, अरु वर्ष र अन्य कक्षामा त कोर्स सकेको छु नि! तपाईंले बुझ्दा हुन्छ। कक्षा दसमा मात्र सकिएन। ५० देखि ५५ नम्बरको पढाएकै छु, त्यति पढे पनि पास भइहालिन्छ न!’यस्तै गणित विषयको हालत पनि रहेको छ। गणित विषयको पनि आधा कोर्स मात्र पढाइ भएको थियो। एक अभिभावकले भने, ‘पटक–पटक विद्यालय गएर गुनासो गरेपछि अन्तिममा आएर दुई–चार दिनमा छुटेको कोर्स पढाए जस्तो मात्र गरे।’

गणितकी शिक्षिका गीता रानाले पनि आफ्नो पढाइ पनि सँगै गर्नुपर्ने भएकाले समयमा पूरा कोर्ष पढाउन नसकेको स्विकारेकी छन्। विद्यालयमा होमवर्क चेकसमेत नहुने गरेको विद्यार्थीको गुनासो छ। अहिले नपढेरै एसइई परीक्षा दिँदा परीक्षा बिग्रिएपछि अभिभावक निकै आक्रोशित भएका छन्।

पटक–पटक पढाइमा लापरबाही भइरहेकोबारे विद्यालयमा गएरै गुनासो गर्दा पनि वद्यालय प्रशासनले सुधार नगरेको अभिभावकको गुनासो छ।एक अभिभावकले भने, ‘प्राविधिक शिक्षा पढाएर बालबालिकाको भविष्य राम्रो होला भनेर अरु विद्यालयबाट धनगढी नमुना माविमा भर्ना गरेँ, यहाँ त झन् भविष्य नै बिग्रने देखियो।’यता विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्ट भने शिक्षक तथा विद्यार्थीले आफूलाई कोर्ष नसकिएकोबारे समयमै जानकारी नगराएको दाबी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस