चितवनका ३ पालिका प्रमुखले दिए दोस्रो पटक उम्मेदवारी

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १६ : २५
चितवनका ३ पालिका प्रमुखले दिए दोस्रो पटक उम्मेदवारी

चितवन । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनका ७ पालिकामध्‍ये ३ पालिका प्रमुखले दोस्रो पटक टिकट पाएका छन् ।दोहोरिएर उम्मेदवार बन्‍नेमा भरतपुर महानगरपालिकाकी मेयर बनेकी रेनु दाहाल, खैरहनी नगरपालिका मेयर लालमणि चौधरी र इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरूङ छन् ।

तीनै जनाले प्रमुख पदमा दोस्रो कार्याकालका लागि सोमबार मनोनयन दर्ता गराए । माडी, राप्ती, रत्ननगर र कालिकामा नगरपालिकामा भने नयाँ उम्मेदवारहरुले मेयरमा उम्मेदवारी दिएका छन् ।

भरतपुरमा नेकपा माओवादी केन्द्रबाट  मेयर रेनु दाहालले र एमालेतर्फबाट खैरहनी नगरपालिकाको मेयरमा लालमणि चौधरीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै इच्छाकामना गाउँपालिका अध्यक्ष  गीता गुरूङले नेपली कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।२०७४ सालको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनतर्फबाट महानगरको मेयरमा रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर जित्दा एमालेका एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

यस्तै खैरहनीका मेयर बनेका चौधरीले १० हजार ७१७ मत ल्याएर जितेका थिए । यहाँ कांग्रेसबाट मेयर उम्मेदवार रहेका राजेन्द्रप्रसाद चौधरीले ९ हजार ७३३ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । इच्छाकामना गाउँपालिकामा गीता गुरूङ्गले ३ हजार २५४ मत ल्याएर जित्दा एमाले उम्मेदवार नारायणप्रसाद अधिकारी ३ हजार ६१ मत ल्याएका थिए ।

एमालेबाट जितेका कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले मेयरमा दोहोरिने चाहा्ना राखेको भए पनि टिकट पाएनन् । एमालेबाट जितेका रत्ननगरका मेयर नारायण बन र राप्ती नगरपालिका मेयर प्रभा बरालले मेयरमा आकांक्षा व्यक्त गरेनन् । माडी नगरपालिकामा माओवादी केन्द्रबाट जितेका ठाकुर ढकालले मेयरको चाहना राखे पनि टिकट पाएनन् ।

दुई उपमेयरले पाए मेयरका टिकट

पूर्वी चितवनको रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले एमालेको तर्फबाट मेयरमा टिकट पाएर उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै, एमालेबाट नै जितेकी माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले एमालेबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी र राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले मेयरमा तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अध्यक्षमा चाहना राखे पनि टिकट पाएनन् । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले मेयरमा नउठ्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस