दुई उपमहानगरमा सहमति नहुँदा गठबन्धन दलबीच हुन सकेन हस्ताक्षर, आज ‘अन्तिम निर्णय’

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, ०८ : ०१
दुई उपमहानगरमा सहमति नहुँदा गठबन्धन दलबीच हुन सकेन हस्ताक्षर, आज ‘अन्तिम निर्णय’

काठमाडौं । मंगलबार २ बजे बसेको सत्ता गठबन्धनको बैठक साँझ अबेर मात्र सकियो। पहिलो बैठकले स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाको सिटमा सहमति निकाल्यो पनि तर हस्ताक्षर हुन सकेन।

गठबन्धनका नेताहरु मंगरबार राति १० बजे पुनः अर्को बैठकमा जुटे। प्रधानमन्त्री निवास बालुवाटारमा राति २ बजेसम्म चलेको बैठकमा उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा छलफल भएको थियो। तर जनकपुर उपमहानगरको विषयमा सहमति जुट्न नसक्दा मंगलबार राति नै सहमति पत्रमा हस्ताक्षर हुन सकेन। 

अन्तिम निर्णयका लागि गठबन्धन दलको बैठक आज ११ बजे बस्दै छ। मंगलबार गठबन्धनले ६ महानगर र ९ उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड टुंग्याएको छ । जनता समाजवादी पार्टी (जसपा) ले जननपुर उपमहानगर पाउने निश्चित भए पनि मंगलबार राति नेपालगन्जमा पनि आफ्नो दाबी राखेको छ। जसपाले नेपालगन्जमा दाबी राखेपछि कांग्रेसले जनकपुर दाबी गरेको थियो। २०७४ को निर्वाचनमा जनकपुरमा तमलोपा र नेपालगन्जमा राप्रपाले निर्वाचन जितेको थियो।

मंगलबार रातिको सहमति अनुसार कांग्रेसले विराटनगर, ललितपुर र काठमाडौंमा मेयर तथा वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पाउने सहमति छ । नेकपा माओवादी केन्द्रले भरतपुरमा मेयर तथा ललितपुरमा उपमेयर लिनेछ।एकीकृत समाजवादीले पोखरामा मेयर र काठमाडौंमा उपमेयर लिने सहमति भएको छ ।जसपालाई वीरगन्जमा मेयर र विराटनगरमा उपमेयरको सिट पक्का भएको छ।

उपमहानगरमा पनि यस्तो छ सहमति

११ उपमहानगरपालिकामा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक–एक मेयर लिने गरी सहमति भएको छ। तर यसमा पनि नेताहरुबीच औपचारिक हस्ताक्षर हुन भने बाँकी छ।

मंगलबार दिउँसोसम्म कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीको मेयर, माओवादीले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौँडा र जसपाले जनकपुरको मेयर लिने सहमति थियो। तर मंगलबार राति बसेको बैठकमा जसपाले नेपालगन्जमा पनि दाबी गरेकोछ।

प्रतिक्रिया दिनुहोस