योगी नरहरिनाथको जन्मोत्सव मनाइयो

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १७ : १२
योगी नरहरिनाथको जन्मोत्सव मनाइयो

चितवन। । भरतपुर–१ वागीश्वरीमा रहेको श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा राष्ट्र गुरु योगी नरहरिनाथको जन्म दिवस मनाइएको छ । उहाँ पुरातत्वविद्, धर्मशास्त्रचार्य, इतिहास लेखक, थुप्रै भाषाका ज्ञाता तथा आध्यात्मिक हुनुहुन्थ्यो । योगीको जन्म दिवसको अवसरमा विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले राष्ट्र गुरु योगी नरहरिनाथको विषयमा चर्चा गर्नुभएको थियो । 
राष्ट्र गुरु वैदिक सनातन धर्म र संस्कृतिको रक्षाका लागि अहोरात्र खटिनुभएको भए पनि उहाँलाई दरबारले मन नपराएको अधिकारीको भनाइ थियो । राष्ट्र गुरुले राज परिवारका सदस्यले समेत वैदिक सनातन धर्म र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ, सोही अनुसारको शिक्षा लिनुपर्छ भन्दै राज वीरेन्द्रसँग भन्दा उहाँसँग राजसंस्था रुष्ट भएको अधिकारीले बताउनुभयो । योगी नरहरिनाथ राष्ट्रवादी र दूरदर्शी व्यक्ति भएको उल्लेख गर्दै अधिकारीले राष्ट्र गुरुले हिन्दु धर्मको संरक्षणका लागि देशको विभिन्न स्थानमा कोटी होम महायज्ञका साथै स्थानीय जातका गाईहरुको संरक्षणका लागि काम गर्नुभएको बताउनुभयो । राष्ट्र गुरु योगी नरहरिनाथले कोटी होम गर्नुभएको वागीश्वरी आश्रमको कोटीहोम स्थल संरक्षण गर्दै स्थानीय जातको गाईसमेत पालिएको छ । कालिकोटको लालु गाउँमा १९७१ फागुन १७ गते जन्मनुभएका उहाँको २०५९ फागुन १३ गते मृगस्थली आश्रममा निधन भएको थियो । नरहरिनाथ २०१३ सालदेखि वागीश्वरी क्षेत्रमा हुनुहुन्थ्यो । २०३८ सालमा देवघाटको गलेश्वर आश्रममा उहाँले पहिले कोटिहोम गर्नुभएको थियो । वागीश्वरीमा २०४९, ०५३ र ०५७ सालमा कोटिहोम गर्नुभएको थियो । 

देवघाटको झोलुङ्गे पुल राख्न प्रस्ताव गरेपछि उहाँबाटै शिलान्यास भएको थियो । योगीकै अगुवाईमा वागीश्वरी क्षेत्रमा २०५० सालमा विश्व आयुर्वेद सम्मेलन, २०५३ मा सन्त सम्मेलन, २०५४ मा साहित्य सम्मेलन भएका थिए । जन्मोत्सवको अवसर पारेर आज गौसंरक्षण केन्द्र र गुरुकुल सञ्चालमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा महेश सन्न्यास आश्रम देवघाटका प्राचार्य डा. गुरुप्रसाद सुवेदी, भागवत वाचक बुद्धिसागर भण्डारी, साहित्यकार केदारनाथ खनाल लगायतले योगी नरहरिनाथको योगदानको चर्चा गर्नुभएको थियो । परिषद्का संरक्षक शान्तप्रसाद पोखरेलले वागीश्वरी क्षेत्रलाई देशको मुख्य धार्मिक गन्तव्य बनाउन पूर्वाधार निर्माणमा गती दिइएको बताउनुभयो । 

वागीश्वरीमा हाल गौसंरक्षण केन्द्र, संस्कृत गुुरुकुल, प्राकृतिक चिकित्सालय, मठ मन्दिरहरु छन् । गौसंरक्षण केन्द्रमा हाल १ सय ८२ वटा गाईहरु संरक्षित छन् । चार वर्षयता सञ्चालनमा रहेको आवासीय गुरुकुलमा हाल कक्षा ६ देखि ९ सम्म २४ जना बटुकहरु अध्ययनरत छन् । कार्यक्रम योगी नरहरिनाथ आध्यात्मिक परिषद्का बरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद खरालको अध्यक्षतामा भएको हो ।   

प्रतिक्रिया दिनुहोस