त्रिविका आंशिक प्राध्यापक आन्दोलनमा

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १६ : ५६
त्रिविका आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौ ।  ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको आह्वानमा त्रिवि तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका हुन् ।


उनीहरुले मंगलबारदेखि त्रिवि तथा सबै आंगिक क्याम्पसहरुको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । संघर्ष समितिका अध्यक्ष गोकुल लेछ्वो लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य र प्रवक्ता एलबी विष्टले संयुक्त विज्ञप्ति जारी गर्दै आंशिक प्राध्यापकहरुको माग सम्बोधन नभएसम्म तालाबन्दी कायम रहने घोषणा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर दुई हजार दुई सय आंशिक प्राध्यापक कार्यरत छन् । विश्व विद्यालय जस्तो प्राज्ञिक, वौद्धिक थलोमा आफूहरु माथि १७ वर्षदेखि अन्याय, विभेद, बौद्धिक श्रम शोषण भइरहेको गुनासो आंशिक प्राध्यापकहरुको छ ।

चार हजार पाँच सय सेवा निवृत्त प्राध्यापकहरुको कक्षा भारसहित त्रिभुवन विश्व विद्यालयको लगभग ६५ प्रतिशत कक्षाभार आंशिक प्राध्यापकले धानेपनि दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लान माग गर्दा अटेर गरेको उनीहरुको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस