पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरे

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, ११ : ५७
पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरे

काठमाडौँ  ।  बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् ।

बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।


बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो । पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरेका थिए ।

आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। अहिले पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगेको उनले बताए ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रहनुभएका कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।

बिहान ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–गौशाला–चावहिल सडकमा सार्वजनिक र निजी यातायात सञ्चालन भइरहेको छ । लाइन र भक्तजनलाई व्यवस्थित गरी दिनभर यातायात सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ । यसका लागि नेपाल स्काउटसहित करिब पाँच हजार स्वयंसेवक परिचालन गरिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ । पशुपति क्षेत्रका १० स्थानबाट आज निःशुल्क गुर्जो चिया र धुलो वितरण भइरहेको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए।

पशुपति क्षेत्रका राममन्दिर, १५ शिवालय, मृगस्थली, तिलगङ्गा, हंसमण्डप, उमाकुण्ड, गुह्येश्वरी, गौरीघाट, भुवनेश्वरी र मित्रपार्क क्षेत्रबाट गुर्जोको चियासहित धुलोको निःशुल्क सेवा दिइएको उहाँले सुनाउनुभयो । महाशिवरात्रिका अवसरमा आज भक्तपुरको डोलेश्वर मन्दिरमा पनि निःशुल्क गुर्जो सेवा दिइएको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । महाशिवरात्रिका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । आज रातिसम्म पशुपतिनाथमा दर्शन गर्न चाहनेका लागि सेवा दिइने कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा आज चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।
 

प्रतिक्रिया दिनुहोस