पिएम कप: पुलिस समूह चरणमा अपराजित

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १४ : ११
पिएम कप: पुलिस समूह चरणमा अपराजित

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब समूह चरणमा अपराजित रहेको छ । सोमबार भएको खेलमा पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गरेपछि समूह चरणमा अपराजित रहेको हो ।

शनिबार नै हुनुपर्ने पुलिस र प्रदेश १ बीचको खेल कोरोना संक्रमणको आशंकाका कारण स्थगित गरेर आज खेलाइएको हो ।१ सय २ रनको सामान्य विजयी लक्ष्य पुलिसले १३ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसको जितमा ओपनर कुशल भुर्तेलले २८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । पवन सरार्फ ४ र दीपेन्द्रसिंह ऐरी ऐरी २० रनमा आउट भए । अनिल साह २४ बलमा २६ रन बनाउँदै अविजित रहे ।

प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट हात पारे ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन जोडेको हो ।

प्रदेश १ का लागि ओपनर मिनास थापाले ५९ रनको योगदान गरे ।श्रवण यादवले १० रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका लागि आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र मञ्जीत श्रेष्ठले समान २–२ विकेट हात पारे । करण केसी र सागर ढकालले १–१ विकेट लिए । समूह ‘ए’ बाट पुलिस र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस