पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

पत्रपत्रिकाबाट

सोमबार, २६ पुस २०७८, ०८ : ०७
पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ ।

नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास गरी ६ शीर्षकमा कर उठाउने गरेको छ । प्रतिलिटर पेट्रोलमा निगमले ५७ रुपैयाँ ७३ पैसा भन्सारमै कर उठाएर राज्यलाई बुझाउने गरेको छ । त्यसको भार सिधै आम उपभोक्तामा परेको छ ।

सरकारले पेट्रोलमा भन्सार शुल्कको नाममा २५ रुपैयाँ २० पैसा, भन्सार सेवा शुल्क ०।०३ पैसा, सडक भन्सार शुल्क ४ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषको नाममा १ रुपैयाँ ३६ पैसा, वातावरण शुल्कका नाममा १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा गरी प्रतिलिटर पेट्रोलबाट मात्र ५७ रुपैयाँ ७३ पैसा कर उठाउने गरेको छ । सरकारले यति धेरै शीर्षकमा कर नउठाउने हो भने आम उपभोक्तालाई सस्तोमा तेल दिन सक्ने आयल निगमको भनाइ छ ।

यसैगरी, प्रतिलिटर डिजेलमा भन्सार शुल्क १२ रुपैयाँ, भन्सार सेवा शुल्क ०।०३ पैसा, सडक भन्सार शुल्क २ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषको नाममा १ रुपैयाँ १९ पैसा, वातावरण शुल्क १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १३ रुपैयाँ ६९ पैसा गरी ४० रुपैयाँ ४१ पैसा कर बुझाउने गरेको छ । राजधानी दैनिकमा खबर छ ।