कोरोनाको ग्राफ उकोलोतर्फ, तेस्रो लहर आउन सक्ने

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, १८ : २६
कोरोनाको ग्राफ उकोलोतर्फ, तेस्रो लहर आउन सक्ने

काठमाडौँ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि बिस्तारै त्यसको असर देखिन थालेको छ । निकै सङ्क्रामक भनिएको ओमिक्रोन भेरियन्ट नेपालमा समेत पुष्टि भइसकेको छ । पछिल्लो ५ दिनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा बिस्तारै कोरोनाको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । यो हप्ताको सुरुवातमा सङ्क्रमण दर साढे २ प्रतिशतको हाराहारीमा रहेकोमा बिहीबार यो बढेर ५ प्रतिशत नजिक पुगेको छ ।

पुस २२ गते १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा सङ्क्रमण पुष्टि भएको छ । सो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३१ रहेको छ । त्यसैगरी पुस २१ गते १० हजार २६७ जनाको परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको थियो । सोही दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २२५ थियो । यस्तै पुस २० गते ९ हजार ३२९ जनाको परीक्षणमा ३९३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। मन्त्रालयका अनुसार पुस २० गतेको सङ्क्रमित सङ्ख्या ५ हजार ९४ छ ।

यता पुस १९ गते १२ हजार ४९८ जनाको परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । १९ गते ५ हजार ५ जना सक्रिय सङ्क्रमित रहेका थिए । यस्तै पुस १८ गते ७ हजार ६३१ जनाको परीक्षण गर्दा २१६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त दिन ४ हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका थिए । बितेको ५ दिनमा सङ्क्रमण दर १।६३ प्रतिशतले बढेको पाइएको छ । यो तथ्यांकअनुसार आगामी दिनमा सङ्क्रमण दर बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस