प्रधानन्यायाधीश राणाविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरणमा उजुरी

सफल खबर संवाददाता

आइतबार, ११ पुस २०७८, १४ : ५५
प्रधानन्यायाधीश राणाविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । डा.गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुको एक टोली जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी लिएर विभागमा पुगेको हो ।

नागरिक अभियन्ताहरुले विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईसमक्ष छानबीनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।टोलीमा डा.गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत रहेका छन । जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एसोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको अधिवक्ता अर्यालले बताए।

विभागले आफुहरुको मागमाथि सुनुवाइ गर्दै जबराको सम्पत्ति खोज्ने विश्वास लिएको उनले उल्लेख गरे। जबराले परिवारका अन्य सदस्यका नाममा विभिन्न ठाउँमा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उजुरीमा छ । विभागका महानिर्देशक भट्टराईले अभियन्ताहरुको उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने बताए।


 

प्रतिक्रिया दिनुहोस