काठमाडौं । हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तर जातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएको आरोप लगाएका छन् ।
हुम्ला सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिका–४ स्थित लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरे । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई बेपत्ता बनाएको आरोप लागेको छ ।
गत २९ मंसिरमा केटी पक्षका आफन्तले कामीको घरमै पुगेर चन्द्रे र सुन्तलीलाई माइती घरमा ल्याएर कुटपिट गरी बेपत्ता बनाएको युवकका परिवा्ले आरोप लगाएका छन् ।
ठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षले छोरालाई निर्घात कुटपिट गर्नुका साथै तीनदिनदेखि बेपत्ता पारेको आरोप चन्द्रेका बुवा धनजय कामीले लगाएका छन् ।
केटी पक्षका मान्छे आएर छोरा र बुहारीलाई लिएर गएको र तीन दिनदेखि छोरा सम्पर्कविहीन रहेको उनको भनाइ छ ।
तर, सुन्तली भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । युवकको भने खोजी भइरहेको हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । उनका अनुसार घटनाको जानकारी आउने बित्तिकै खोजीकार्य थालिएको हो ।
गत ५ मंसिरमा चन्द्रे र सुन्तलीले भागी विवाह गरेका थिए । २९ मंसिरमा केटी पक्षमा मान्छे आएर बुहारी र छोरालाई लिएर गएको धनजय कामीले बताए । छोराबुहारी लैजाने क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको उनले गुनासो गरे ।
छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफुले १ पुसमा प्रहरीलाई जानकारी गराएको उनले बताए । छोरीलाई घरमा राखेर केटालाई बेपत्ता बनाएको आफुले जानकारी पाएको सर्केगाड–१ का वडा अध्यक्ष गोकुल बुढाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ पुस २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान
अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो