सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वास बढेको छ : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, २० : ०१
सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वास बढेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्द्वारा आज आयोजित ‘सामाजिक सुरक्षाको वर्तमान अवस्था आगामी कार्यदिशा’ बिषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले कोषमा आवद्ध भएकाहरुका आश्रित परिवारले पेन्सन पाउन थालेपछि यसप्रति आकर्षण र विश्वसनियता पनि बढेको बताएका हुन् ।

सामाजिक सुरक्षा कार्यक्रमहरु कार्यन्वयन गर्न यस्तै प्रकृतिका अन्य निकाय समेत हुँदा कतिपयलाई अन्योल रहेको बताउँदै मन्त्री श्रेष्ठले कोषले प्रदान गर्ने सुविधाहरु अन्यत्रबाट प्राप्त गर्न कठिन रहेको बताए । श्रेष्ठले सामाजिक सुरक्षा कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवारको सुरक्षा र बृद्धावस्था सुरक्षा सुविधाहरु उपभोग भइरहेको बताए । साथै उनले कोषका क्षेत्रहरू बृहत् र विस्तार हुँदै जाँदा सवै क्षेत्रका श्रमिकहरु आबद्ध हुँदै जाने विश्वास व्यक्त गरे ।

आगामी दिनमा यसबाट प्रदान गरिने सुविधाहरु वृद्धि हुँदै जाने विश्वास दिलाउँदै उनले सामाजिक सुरक्षाका मुल्य मान्यता एवं सिद्धान्त, अन्तर्राष्ट्रिय अनुभव र अभ्यास एवं मुलुकको आर्थिक एवं सामाजिक परिवेशलाई दृष्टिगत गरी यसलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।