प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदैं

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, ०८ : ४०
प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदैं

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा विश्वासको मत आज लिने भएका छन् । आज दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभा बैठकमा उनको प्रस्ताव निर्णयार्थ पेश भई मतविभाजन गर्ने कार्यसूचि छ ।

कात्तिक ७ गते विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गर्ने कार्यसूचि रहेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएका कारण प्रदेशसभा बैठक एकसाता पर सरेको थियो ।

आजको बैठक भने स्थगित हुने सम्भावना न्यून रहेको बताइएको छ । विपक्षी गठबन्धनमा आवद्ध रहेका सबै दलहरुको आइतबार बसेको बैठकले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यस्तै विपक्षी दलहरुबीच मुख्यमन्त्रीमा कसलाई अघिसार्ने भन्ने विवाद पनि सहमतिबाट टुंगिएका कारण मुख्यमन्त्रीको प्रस्तावको अन्तिम टुंगो हुने अनुमान गरिएको छ ।

विपक्षी गठबन्धनको आइतबार बसेको बैठकले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको छ । विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले गठबन्धनमा सहमति बनेको जानकारी दिँदै यसअघि प्रस्ताव गरिएको आलोपालोको प्रस्ताव नेपाली काँग्रेसको आन्तरिक विषय मात्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस