प्रधानन्यायाधीश जबरालाई भेटेर संयुक्त धारणा राख्ने न्यायाधीशहरूको निर्णय

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १४ : ५०
प्रधानन्यायाधीश जबरालाई भेटेर संयुक्त धारणा राख्ने न्यायाधीशहरूको निर्णय

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने भएका छन् । 

फूलकोर्ट बहिस्कार गरेर झन्डै चार घण्टा आन्तरिक छलफलमा जुटेका अदालतका न्यायाधीशहरुले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निर्णय गरेका हुन् । भेटमा कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश जबरालाई न्यायपालिका र उनीबारे उठेका प्रश्नहरुबारे सोध्ने र उनको प्रतिक्रिया हेरेर थप कदम चाल्ने न्यायाधीशहरुको बैठकले निष्कर्ष निकालेको छ । 

‘लामो छलफल भए पनि त्यस्तो कुनै निष्कर्षमा पुगिएको होइन । हाम्रो सामूहिक सरोकारका विषयमा भोलि (मंगलबार) प्रधानन्यायाधीशसँग समय लिएर भेटेर कुरा राख्ने भन्ने कुरा भएको छ’, न्यायाधीश हरिकृष्ण कार्कीले  भने । 

न्यायाधीशहरूको बैठकका कारण सर्वोच्च अदालतमा सबै मुद्दा प्रभावित भएका छन् । न्यायाधीहरूको बैठक सकिए पनि अघोषित इजलास बहिस्कारलाई भने निरन्तरता दिएका छन् । न्यायालयको आन्तरिक विवादका कारण मंगलबारको मुद्दा सुनुवाइसमेत प्रभावित हुने देखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस