हेर्नै पर्ने दियालो दरबार तर हेर्न पाईदैन् , राजा महेन्द्रको रहस्यमय मृत्यु भएको दियालो दरबारको कथा

प्रकाश सिग्देल

आइतबार, ०७ कार्तिक २०७८, १६ : ३०
हेर्नै पर्ने दियालो दरबार तर हेर्न पाईदैन् , राजा महेन्द्रको रहस्यमय मृत्यु भएको दियालो दरबारको कथा

चितवन । राजा महेन्द्रको रहस्यमय मृत्यु भएको दियालो दरबार हो यो दियालो दरवार । देशमा गणतन्त्र स्थापना भए पनि मानिसहरुले शाह वंशीय राजाहरुको इतिहास र उनीहरुले गरेका कर्मको अहिले पनि चर्चा गर्ने गरेका छन् । शाह वंशको इतिहासमा राष्ट्रभक्त, देश र जनताप्रति  समर्पित विकासका सुत्राधार राजा महेन्द्रको चर्चा अरु राजाको भन्दा धेरै हुने गरेको छ ।

पुर्व पश्चिम राजमार्ग स्थापना संगै २०२६ सालमा चितवनलाई बिकासमा अगाडि बढाउने र देशको मध्यमभागमा बसेर देशमा सन्तुलित विकासका लागि योजना बनाउने गरी चितवनमा दियालो दरबार स्थापना गरेका राजा महेन्द्रको यहि दरबारमा रहस्यमय ढंगबाट मृत्यु भयो ।

तत्कालिन सरकारले उनको मृत्युलाई स्वभाविक मानेपनि धेरैले यसलाई पश्चिमाहरुको षड्यन्त्र मान्दै आएका छन् । तत्कालिन समयमा राष्ट्रगुरु योगी नरहरी नाथले राजा महेन्द्रको मृत्यु योजनावद्ध ढंगबाट गराईएको बताएका थिए । उनको मृत्यु हुनु केहि घण्टा अगाडि केही विदेशी महिलाहरु दरबारमा आफुले देखेको उनले दाबी गरेको उनका निकटहरु बताउँछन् ।

राजा महेन्द्रले निकै भव्य र व्यवस्थित तवरले निर्माण गरेको यो दरबार कस्तो छ ? त्यो अहिले सम्म आम नागरिकले देख्न पाएका छैन्न । त्यहाँ काम गर्ने कर्मचारी, सुसारे र नेपाली सेना बाहेक अरुका लागि यो दरबारमा प्रवेश गर्ने अनुमति छैन् ।

यो शाहवंशीय राजाहरूको शितकालीन दरवार हो । यो दरवार नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ । यो दरवारमा सबैभन्दा धेरै बस्ने राजा महेन्द्र हुन् भने राजा वीरेन्द्र पनि माघेसंक्रान्तिको अवस‍र परेर बस्न आउने गरेको यहाँ कार्यरत कर्मचारीहरु बताउँछन । राजा आउदा चितवन आसपासका स्थानिय बोलाएर विकासका बारेमा छलफल गर्ने गरेको दर्बारमा कार्यरत  एक कर्मचारीले बताए । उनका अनुसार राजा ज्ञानेन्द्र पनि यहाँ एक दिनका लागि आएका थिए ।नेपालमा गणतन्त्र आएपछि नेपाल ट्रष्टको स्वामित्वमा रहेको यस महत्वपूर्ण र ऐतिहासिक दियालो दरबार हेर्ने अवसर चितवन र देश बासिले कहिले पाउछन् थाहा छैन् ।

राजसंस्थाको मुख्य दरबार नारायणहिटी सर्वसाधारणका लागि पाटीसमेत खान मिल्ने गरी भोजन गृहका रुपमा विकास गरिरहँदा  दियालो दरबार भने लुकाइनु दुःखद भएको चितवनका पर्यटन व्यवसायीहरु बताउँछन ।

सुरक्षार्थ नेपाली सेना र नेपाल ट्रष्टका सात जना कर्मचारीबाहेक अरु कोही यस दरवार परिसरमा प्रवेश समेत गर्न पाउँदैनन । नेपाली सेनाको घेरामो जंगलभित्र एकान्तमा दियालो बंगला दरबार छ । सर्वसाधारण मात्र होइन, चितवनका सरकारी अधिकारी, जनप्रतिनिधि, यहाँका पर्यटन व्यवसायी उद्योगी उद्योग वाणिज्य संघका पदाधिकारीहरुले समेत दरबार हेर्ने अवसर पाएका छैनन ।

के भन्छन् चितवनका अगुवा

इतिहास मेट्ने राजनीतिक संस्कार भएकाले पुरानो इतिहास भएको शाह वंशको अस्तित्व मेटाउने खेलमा राज्य लागेकोले यो पनि ओझेलमा पारिएको उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष राजन गौतमले बताए ।

यो दरबारलाई केहि व्यवसायीक प्रतिष्ठानले आँखा लगाएको सुनिएकाले कसैको निज स्वार्थ पुर्तिका लागि यसलाई प्रयोग गर्न दिन नहुने र यसलाई राज्यकै मातहतमा रहने गरी सर्वसाधारणका लागि खुला गरि ईतिहास हेर्न र पढ्न पाउने अवसर सृजना गर्नुपर्ने उनको भनाई छ ।चितवनले आफना पर्यटकीय गन्तव्यहरुमा दियालो दरवार समावेश गरेको पाइँदैन भने राज्यले पनि दियालो दरबारलाई छाउपडी गोठमा लुकाइएकी किशोरीलाई जस्तै गरी लुकाएर राखेको छ ।

यसलाई संग्रहालयको रुपमा विकास गर्न सके यसले चितवनको पर्यटन विकासमा समेत धेरै योगदान पुग्ने  दरवार आसपासमै हुर्केका व्यवसायी तथा बरिष्ठ समाजसेबी ,सामाजिक अगुवा उमाशंंकर अग्रवालले बताए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारीले देवघाट जाने मुखमा दरबार रहेकाले आम सर्वसाधारणलाई पनि यहाँभित्र कस्तो छ होला भन्ने कौतुहलता जाग्ने गरेकाले यसलाई सर्वसाधारणका लागि अवलोकन गर्न  खुला गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

यो दंरवार संरक्षण गर्ने बिषयमा नेपाल टष्ट्र र नेपाल सरकारनै गैर जिम्मेवार बनेको उनको तर्क छ ।हाल सेनाको संरक्षणमा यो क्षेत्र रहेकाले दरबार र यसको संरक्षित भूमि भने अतिक्रमणबाट बचेको छ ।दरबार नेपाली सेनाकै संरक्षणमा रहने गरी सर्वसाधारणका लागि खुल्ला गर्न सके यसको महत्व थप बढ्नका साथै संरक्षण पनि हुने यहाका स्थानियहरुले विश्वास गरेका छन् । चितवनको पर्यटन विकासका लागी पनि यो दरबारलाई संग्राहालयका रुपमा विकास गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस