एसिड खन्याइएकी महिलाको आर्तनाद

एसिडले पोलेपछि रोएँ, कराएँ, चिच्याएँ

सूर्यप्रकाश कँडेल

सोमबार, १० बैशाख २०७५, १८ : १८
एसिडले पोलेपछि रोएँ, कराएँ, चिच्याएँ

चितवन । आइतबारको दिन सधैं झैं उनी आर्थिक गणनाको सर्वेक्षणमा खटिएकी थिइन् । बिहान डेरामा खाना खाएर कार्यक्षेत्रमा पुगेकी २८ वर्षीया कल्पना श्रेष्ठले बुद्धचोक क्षेत्रमा काम गरिरहेकै बेला रत्ननगरमा कार्यरत ट्राफिक प्रहरी नायब निरीक्षक ५२ वर्षीय रामचन्द्र खनियाले मोटरसाइकलमा पिछा गर्न थाले । सामान्य चिनजानका खनियाले मोटरसाइकलमा पिछा गर्न थालेपछि आत्तिएर डेरामा फर्कन माइक्रोबस चढेकी कल्पना डेरामा पुग्न नपाउँदै एसिड प्रहारको घटनामा परिन् ।
एसिड आक्रमबाट घाइते भएकी कल्पना श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, छाती र खुट्टामा एसिड परेको छ । प्रहरी नायब निरीक्षक खनियाले हिजो आइतबार दिउँसो चार बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४, त्रिचोकको भित्री बाटोमा कल्पनामाथि एसिड छर्किएका थिए । गोर्खा घर भई त्रिचोकमा डेरा गरी बस्ने २८ वर्षीया श्रेष्ठलाई एसिड छर्किएको थाहा पाएपछि प्रहरीले खनियालाई घटनास्थलबाटै पक्राउ गरेको छ ।
समाजको रक्षा गर्ने कसम खाएर निलो बर्दी लगाएको प्रहरीबाटै हिंसा र आक्रमणमा परेकी कल्पनाले सोमबार अस्पतालको बेडबाट खनियामाथि कडाभन्दा कडा कारबाहीको माग गरेकी छिन् । खनियाले आफूमाथि किन एसिड प्रहार गरे भन्नेबारे अनभिज्ञ रहेको बताउँदै कल्पना भन्छिन्, ‘मोटरसाइकलबाट पिछा गर्न थालेपछि माइक्रो चढेर डेरामा फर्कंदै थिएँ । उसले मोटरसाइकलबाट मेरो पिछा गर्न छाडेन । त्रिचोकमा माइक्रोबाट झर्दा उ त्यहीँ आइपुगेको थियो ।’
माइक्रोबाट झरेपछि कल्पनाले किन मेरो पिछा गरेको भन्दै खनियालाई हप्काइन् । खनियाले बुद्धचोकमा नै कल्पनालाई सडकबाट इँटा टिपेर यहीँ इँटाले हिर्काएर मारिदिन्छु भनेर धम्क्याएका थिए । त्रिचोकमा आइपुगेपछि कल्पनाले प्रहरीलाई फोन गर्छु भनेर झोलाबाट मोबाइल निकाल्न खोज्दा खनियाले उनको झोला खोसेर बाटो छेउमा मिल्काए ।
झोला तानातानको क्रममा हातमा लागेको चोट देखाउँदै कल्पना भन्छिन्, ‘मैले प्रहरीलाई फोन गर्छु भनेपछि उसले मेरो झोला खोसेर फालिदियो । झोला टिप्न निहुरिएको बेला पछाडिबाट टाउकोमा एसिड खन्यायो । एसिडको धुवाँले आँखा पोलेपछि म रोएँ, कराएँ, चिच्याएँ । म चिच्याएको सुनेर वरपरका मान्छेहरु आए । त्यसपछि के भयो भन्ने मैले थाहा पाइन । होशमा आउँदा म अस्पतालको बेडमा थिएँ ।’


खनियाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी
एसिड आक्रमणमा घाइते भएकी कल्पनाका श्रीमान् किसान श्रेष्ठ तारा दल गण बारामा कार्यरत सैनिक जवान हुन् । श्रीमतीमाथि प्रहरीबाट एसिड प्रहार भएको घटना थाहा पाएपछि सोमबार उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खनियाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । किसानको जाहेरीपछि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर खनियालाई हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले महिलामाथि एसिड प्रहार हुनुको कारण आन्तरिक विवाद रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै भने, हामीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेका छौं । पीडक प्रहरी सेवामा रहेको मान्छे हुँदैमा अनुसन्धान प्रभावित हुँदैन । पीडितका श्रीमानबाट ज्यान मार्ने उद्योगमा जाहेरी दरखास्त परेकोले त्यसै अनुसार कानुनी कारबाही अगाडि बढाएका छौँ ।’

 

प्रतिक्रिया दिनुहोस