हिउँदे बाली सुक्न थालेपछि किसान चिन्तित

मंगलबार, १९ मंसिर २०७४, १० : ५८
हिउँदे बाली सुक्न थालेपछि किसान चिन्तित

खोटाङ, १९ मंसिर । हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश क्षेत्रमा यसबर्ष पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका किसानले लगाएका हिउँदे बाली सुक्न थालेको हो ।

सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा दलहन र तेलहनलगायतका बालीनाली सुक्न थालेको जिष्ट कृषि फर्म, बाहुनीडाँडाका सञ्चालक फौदसिं कार्कीले बताउनुभयो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो क्षेत्रमा मुहान सुकेपछि पिउने पानीको समेत अभाव भएको छ ।

भदौ यता पानी नपर्दा हिउँदे मकै, मास, मस्याम, बोडी, गहत, तिल, फिलुंगेलगायतका बालीनाली ओइलाएर सुकेको किसानको भनाइ छ । मुख्य बालीनाली नै सुक्न थालेपछि किसान चिन्तित छन् । पानी नपर्दा केराको बोटसमेत ओइलिन थालेको छ ।

विशेषगरी दुधकोसी र सुनकोसी किनारभन्दा केहीमाथिका गाउँमा खडेरीको समस्या छ । यसअघिका वर्षसम्म भदौ असोजसम्म सामान्य वर्षा हुने गरेको भए पनि यस वर्ष भने पानी नपरेको किसानको भनाई छ । पानी नपर्दा अधिकांश बालीनाली सप्रिएका छैनन् । सिँचाइको अभावमा सो क्षेत्रका स्थानीयबासिन्दा आकाशे पानीको भरमा खेतीपाती गर्न बाध्य छन् ।

कम पानी पर्ने भएकाले हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामध्ये अधिकांश वडा सुक्खाग्रस्त क्षेत्र मानिन्छ । यसअघि नै हलेसी तुवाचुङ नगरपालिकाको सात वडा सुक्खाग्रस्त क्षेत्रकारुपमा घोषित भइसकेको अवस्थामा नगरसभाको पहिलो बैठकले बाँकी रहेका थप चार वडा धितुङ, सल्ले, अर्खौले र राजापानीलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणाका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस