तत्काल मन्त्रिमण्डल विस्तार नहुने, माधव र उपेन्द्रबीच ‘मालदार मन्त्रालय’ लिन बाझाबाझ

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १७ : ०१
तत्काल मन्त्रिमण्डल विस्तार नहुने, माधव र उपेन्द्रबीच ‘मालदार मन्त्रालय’ लिन बाझाबाझ

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले अझै मन्त्रिमण्डल विस्तार गर्न सकेको छैन । पाँच दलीय गठबन्धनमा मन्त्रालयको भागवन्डा मिल्न नसक्दा सरकार बनेको डेढ महिना भइसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । 

लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचित प्रधानमन्त्री देउवालाई सरकारलाई पूर्णता दिन अझै समय लाग्ने देखिएको छ । गठबन्धन सरकारमा सबै पार्टीले मालदार मन्त्रालय पाउनुपर्ने अडान राखेपछि देउवा सरकारले मन्त्रिमण्डल विस्तार गर्न सकेको छैन । हाल प्रधानमन्त्री देउवा पाँच मन्त्री लिएर सरकार चलाइरहेका छन् । 

सरकारलाई पूर्णता दिने विषयलाई लिएर हिजोदेखि नेताहरू छलफलमा छन् । दुईपटक गठबन्धनको बैठक बसेको छ, तर पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । कुन मन्त्रालय कसले लिने भन्ने विषयलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच बैठकमा बाझाबाझ भएको स्रोतको भनाइ छ । दुबै नेपाल र यादवले ‘मालदार मन्त्रलाय’ मा दावी गरेका थिए । 

बैठकमा नेपाल र यादव दुवैले भौतिक पूर्वाधार र उद्योग मन्त्रालय आफूले लिने अड्डी कसेका थिए । दुई मन्त्रायललाई लिएर दुई नेता बाझेपछि कसलाई कति र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा थप प्रगति हुन सकेको छैन् । यही कारण पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेताहरु नमिल्दासम्म मन्त्रिमण्डल विस्तार नहुने देखिएको छ । 

हरेक दलका सांसदको इच्छा जसरी पनि मन्त्री हुने छ । केहीअघि पार्टीमा मन्त्री बन्न कुरा लगाउनेहरूदेखि हैरान भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदजति सबैले मन्त्री खोजको भन्दै दिक्दारी भएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस