तालिबानसँगको वार्ताकालागि गुल्बुद्दिन दोहा जाने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, २१ : ५६
तालिबानसँगको वार्ताकालागि गुल्बुद्दिन दोहा जाने तयारी

काठमाडौं । अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउनका लागि गठन भएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको छलफलका लागि दोहा जाने भएका छन् ।

परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको अल जजिराले जनाएको छ ।

राष्ट्रपति अशरफ गनी देश छाडेर गएपछि पूर्व राष्ट्रपति हामिद कारजाईको अगुवाईमा तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद गठन भएको हो । राष्ट्रपति गनीले देश छोडेर ठूलो खाडल सिर्जना गरेको कारजाइले बताए । 

राष्ट्रपति गनीले देश छोडेको थाहा पाउने बित्तिकै आफूले पूर्व नेताहरुसँग छलफल गरेको र अव्यवस्था आउन नदिनका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरिएको उहाँले उल्लेख गरे । 

आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेको थियोे । अफगानिस्तानमा २० वर्षपछि तालिबान समूहको सत्तामा फर्किँदै छ । अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाने निर्णय गरि सो अनुसार प्रक्रिया थालेको डेढ महिना भित्रै तालिबानले अफगान देशमा आफ्नो नियन्त्रण कायम गरेको हो ।

आइतबार बेलुका तालिबान लडाकु राष्ट्रपति कार्यालयमा गएका थिए । तालिबानले नागरिकको ज्यानमा जोखिम नरहेको बताए पनि त्रास अत्यधिक मात्रामा बढेको छ । विशेषगरि महिलाको अधिकारका क्षेत्रमा भएको प्रगति पुनः कमजोर बन्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस