मन्त्रीमण्डलाई पूर्णता दिने अन्तिम तयारीमा प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, ०८ : १२
मन्त्रीमण्डलाई पूर्णता दिने अन्तिम तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई सातापछि सत्तारूढ गठबन्धनले मन्त्रीमण्डलाई पूर्णता दिन अन्तिम तयारी थालेको छ । 

गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको निर्णय कुर्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएकोमा जसपाको आधिकारिता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रीमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ ।

हुन त नेपाल समूहले पाउने मन्त्रालय बाँकी राखेर मन्त्रिपरिषद् विस्तार गर्ने कि तीन दलबीच मन्त्रालय बाँडफाँड गरेर अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा अझै सहमति जुट्न नसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार नेपाल समूहलाई सरकारमा सहभागी गराउन कुर्ने र नआउने निर्णय गरेको अवस्थामा तीन दलबीच मन्त्रालय भागवण्डा गरेर मन्त्रीमण्डलाई पूर्णता दिने विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । 

गठबन्धनमा आबद्ध दलहरूले नेपाल समूहलाई समावेश गरेर मन्त्रीमण्डललाई पूर्णता दिन जोड गरिरहे पनि नेपाल समूहले अझै कुनै निर्णय दिन सकेको छैन ।नेपाल समूहलाई मन्त्रालय बाँकी राखेर कांग्रेस, एमाले र जसपा सम्मिलित मन्त्रीमण्डल विस्तार गर्न मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री देउवाले दुई राज्यमन्त्रीसहित १८ जना मन्त्री नियुक्त गर्न बाँकी छ । यसै बीच नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको भएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस