वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

शुक्रबार, ३० चैत्र २०७४, १७ : ३४
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

काठमाडौँ । नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै रह्यो । आइसिसीबाट क्यान हालसम्म प्रतिबन्धित छ । यद्यपि समस्या समाधानको प्रयास भने जारी रहेको निलम्वित क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउनुहुन्छ । “चाँडै नेपाली क्रिकेटको समस्या समाधान हुन्छ,” उहाँले भन्नुभयो ।
क्यान विवादबीच नेपालले क्रिकेटमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । नेपालले आगामी चार वर्षसम्म थुप्रै अवसर पाउनेछ । यसै वर्ष नेपाल आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईको विजेतासमेत बन्यो । युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग(आइपिएल)मा आबद्ध हुने मौका पाए । उनी डिल्ली डेयरडेभिल्ससँग रु ३२ लाखमा आबद्ध भए । अहिले उक्त प्रतियोगिता भारतमा जारी छ ।

यसै वर्ष निजी क्षेत्रको प्रयासमा टि–२० घेरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग सम्पन्न भए । यि दुवै प्रतियोगिताले नेपाली खेलाडीलाई केही हदसम्म व्यावसायिक बनायो ।

फुटबलमा मिश्रित नतिजा
यस वर्ष नेपाली फूटबलमा धेरै विवाद र कमैमात्र प्रतियोगिता भए । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन तोकिएको समयमा हुन सकेन । यही चैत १४ गतेलाई तोकिएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ ।

‘कार्यसमितिको निर्वाचन रोकी पाऊँ’ भनी भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञा मुद्दामा उच्च अदालत पाटनबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएकाले निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । एन्फा कार्यसमिति सदस्य रमेशराज रायमाझी निर्वाचन अन्योलमा रहेको बताउनुहुन्छ ।

यस वर्ष एन्फाले लिग फुटबललाई फेरि ब्युँझाउने दाबी गरे पनि सफल हुन सकेन । गएको चार वर्षदेखि राष्ट्रिय लिग प्रतियोगिता हुन सकेको छैन । यस वर्ष मोफसलमा झापा गोल्डकप, मदन भण्डारी गोल्डकप, सहारा गोल्डकप, तिलोत्तमा गोल्डकप, बुढासुब्बा गोल्डकपलगायत प्रतियोगिताले नेपाली फूटबलको साख बचाए ।

यस वर्ष केही खेलाडी विदेशी फुटबल क्लबमा अनुबन्धित भए । माल्दिभ्सको क्लब टिसी स्पोर्टस्मा आबद्ध रहेर त्यहाँ लिग खेलेका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनेर्भा पञ्जावमा पनि संलग्न रहे । त्यस्तै स्ट्राइकर विमल घर्ती मगर आई लिगकै क्लब मोहन बगानमा आबद्ध भए । मिडफिल्डर जगजित श्रेष्ठ अस्ट्रेलियाको प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाली क्लब पर्सिजा जकार्तामा आबद्ध भए । नेपालले एशिया कप छनोटमा भने सहभागिता जनाए पनि खराब प्रदर्शन गर्दै समूहको अन्तिममा रह्यो ।

राष्ट्रिय खेल भलिबल
विसं २०७४ जेठ ११ गते मन्त्रिपरिषद्को बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय ग¥यो । राष्ट्रिय खेल घोषणापछि अहिले सर्वत्र भलिबलको चर्चा छ । भलिबलमा पछिल्ला वर्षमा नेपालले उल्लेख्य प्रगति गर्दैआएको छ ।

राष्ट्रिय खेल घोषणापछि यसै वर्ष नेपाल उद्योग वाणिज्य महासंघले स्थानीयदेखि राष्ट्रियस्तरसम्मको प्रतियोगिता सञ्चालन गर्न रु एक करोड २० लाखको सम्झौता गरेको छ । सम्झौताअनुसार एफएनसिसिआई कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता तीन चरणमा आयोजना गरिने नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउनुहुन्छ ।

यसै वर्ष भलिबलको विकास र विस्तारका लागि नेदरल्यान्ड भलिबल संघले प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै विभिन्न अन्तर्राष्ट्रियस्तरका मैत्रीपूर्ण प्रतियोगिता समेत नेपालले खेल्न पाएको भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले बताउनुभयो ।

राखेपको प्रयास
वर्ष २०७४ मा राष्ट्रिय खेलकूद परिषद्ले १९ खेल सहभागी गराएर राष्ट्रिय खेलकूद परिषद् च्याम्पियनसीप आयोजना ग¥यो । देशका विभिन्न भागमा सञ्चालित उक्त प्रतियोगिता नेपाली खेलकूदमा नयाँ प्रयोग हो । यसअघि यस्ता प्रतियोगिता राखेपले गरेको थिएन ।

नविता सातौँ पटक च्याम्पियन
वर्ष २०७४ मै टेबलटेनिसकी नविता श्रेष्ठले साताँै पटक प्रतियोगिता जित्दै इतिहास कायम गरिन् । लगातार सातौँ पटक राष्ट्रिय च्याम्पियन बन्ने श्रेष्ठ पहिलो महिला खेलाडी हुन् ।

यसैगरी भारत्तोलनकी सञ्जु चौधरीले दक्षिण कोरियामा सम्पन्न एशिया कपमा रजत पदक हात पारिन् । नेपालले भारत्तोलनमा एशियालीस्तरको पदक जितेको यो पहिलो पटक हो ।

भविष्य खोज्न विदेशिए खेलाडी
सजना रानामगर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन् । सशस्त्र प्रहरीको एपिएफबाट व्यावसायिक फुटबल खेल्दै आएकी सजनाले विभागीय टोलीको पनि नेतृत्व सम्हालिन् । गत पुसमा सजना दुबईतर्फ लागिन् ।

राष्ट्रिय टोलीकी गोलरक्षक नमिताकुमारी दली पनि दुबई गएकी छिन् । अनुभवी खेलाडी नमिताकै कप्तानीमा पुलिसले पछिल्ला तीन संस्करणको लिग उपाधि जितेको थियो । पुलिसकी सहायक प्रशिक्षक चन्द्रा भण्डारीका अनुसार नियमित खेलिरहेको अवस्थामै जागिरको नै माया मारेर विदेश पलायन हुँदा नेपाली फुटबलको तीतो सत्यको पर्दाफास भएको छ ।

“खेलाडी जब खेल क्षेत्रमा लाग्छ, त्यसबेला उसले आफ्नो भविष्य सुनिश्चित पार्ने सपना पनि देख्छ । त्यसै सपनाका साथ खेलाडीले वर्षौंसम्म दिनरात नभनी पसिना बगाउँछन् । जब उनीहरूले आफ्नो मेहनतको फल प्राप्त नभएको र राज्यले पनि केही नगरेको अनुभूति गर्छन्, त्यसबेला उनीहरू विकल्पको खोजीमा लाग्छन्”, उहाँले भन्नुभयो । एक दशकसम्म एथ्लेटिक्समा सक्रिय केशरी चौधरी भविष्य नदेखेपछि दुबईतर्फ लागेकी छिन् । चौधरीजस्तो प्रतिभाशाली खेलाडी बाहिरिनु नेपालकै लागि दुर्भाग्य भएको एथ्लेटिक्स प्रशिक्षक चन्द्र गुरुङ बताउनुहुन्छ ।

“केशरीजस्तो खेलाडी विदेश जानु भनेको नेपालको खेलकूदलाई घाटा हो,”उहाँले भन्नुभभो । “खेलाडी पलायन हुनुको मुख्य कारण नियमित रूपमा प्रतियोगिता नहुनु हो । फुटबलको कुरा गर्दा वर्षौंदेखि प्रतियोगिता नहुँदा पलायन हुनुपर्ने बाध्यता छ । पहिलाका खेलाडी देश सम्झेर जीवन बिताउँथे, अहिले अवस्था त्यस्तो छैन”, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस