चुनावमा सहभागी हुन मतदाता आतुर

आइतबार, १७ मंसिर २०७४, १४ : ४८
चुनावमा सहभागी हुन मतदाता आतुर

–शीतलप्रसाद महतो

कलैया, बारा, १७ मंसिर । यतिखेर अन्य प्रदेश जस्तै प्रदेश नं २ का आठ जिल्ला पनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका छन् । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साह छाएको देख्न सकिन्छ ।
    
सर्वसाधारण नेपाली नागरिकको विकास निर्माणप्रतिको उत्कट अभिलाषा र आकांक्षाबीच हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा यहाँका मतदाता मतदानको ब्यग्र प्रतीक्षामा छन् । उनीहरु प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्ने मौका चुकाउनु चाहँदैनन् ।  

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुर, राजपा अध्यक्ष मण्डलका सदस्य क्रमशः राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, रामकृष्ण यादव, महेन्द्र यादव, फरमुल्ला मन्सुर, रमेश रिजाल र अजयकुमार चौरसिया तथा वाम गठबन्धनबाट एमालेका नेता रघुवीर महासेठ, नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झा, उर्मिला अर्याल, अजयशंकर नायक, मातृका यादवका गृह जिल्ला पनि यिनै हुन् ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं २ का आठ जिल्लामा अहिले चुनावी प्रचारप्रसारको सरगर्मी ह्वातै बढ्को छ । त्यस प्रदेशका शहर तथा ग्रामीण क्षेत्रका विभिन्न चोक, पान पसल, चिया पसलदेखि लिएर टोल टोल र खेतबारीसमेत उम्मेदवार र पार्टीका जीत हारको आकलन तथा चुनावी बहसले अहिले त्यहाँका पूरै वातावरण चुनावमय भएको देखिन्छ । विभिन्न दलका नेता, कार्यकर्ता र उम्मेदवारले बिहानैदेखि मतदाताको घरआँगन तथा खेतबारीमा पुगेर मत माग्ने कार्यलाई तीव्रता दिएका छन् भने चुनावीसभा र कोणसभालाई पनि त्यतिकै महत्वका साथ अगाडि बढाएका छन् । विभिन्न दलका शीर्ष नेताहरु पनि चुनावीसभा र प्रचारप्रसारमा व्यस्त देखिएका छन् भने चुनावको समाचार संकलन गर्न राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई अहिले यहाँ भ्याइनभ्याई छ ।

नेपाली काँग्रेसको नेतृत्वमा गठित लोकतान्त्रिक गठबन्धन, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धन, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), नेपाली जनता दललगायतका पार्टीले पनि चुनावीसभा, सम्मेलन र प्रचारप्रसारलाई तीव्रता दिएपछि चुनावी तापमान बढेको हो । मंसिर २१ गते प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पदमा हुने निर्वाचनका लागि ५४५ भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । तीमध्ये करिब ३० जना महिलाको मात्र उम्मेदवारी परेको छ ।

यो प्रदेशमा तीनवटै गठबन्धनका उम्मेदवारले बढी मत तान्नसक्ने देखिएको छ । अन्य उम्मेदवारले पनि मत बटुलेर जित्न भरमग्दूर प्रयासमा लागिपरेकाले उम्मेदवारबीच कडा प्रतिस्पर्धाका साथै हारजित थोरै मतले हुने देखिएको छ ।   “हामी नेपालको इतिहासको एक उत्साहपूर्ण क्षणमा आइपुगेका छौँ,” बारा नागरिक समाजका अगुवा उमेशलाल दासले भन्नुभयो – “राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनसहितको नयाँ नेपाल निर्माणका लागि हुन लागेको यो चुनावलाई सफल र सार्थक बनाउन हामी सबैको साझा प्रयास हुनुपर्छ ।”

“कामको चटारो भए पनि बहुसंख्यक श्रमजीवी जनता यो चुनावमा सहभागी हुन आतुर देखिएका छन्,” कलैयाका ज्येष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठले भन्नुभयो – “काम नगरी खान पाउने अवस्था छैन तर पनि यो चुनाव समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन र समावेशी विकास गर्ने विषयसँग जोडिएकाले यसलाई जसरी भए पनि सफल बनाउनुपर्छ ।”

आचारसंहिता उल्लंघन बढ्दो

सबैजसो राजनीतिक दलका उम्मेदवारहरुबाट आचारसंहिता उल्लंघन भइरहेको देखिएको छ । प्रभावशाली उम्मेदवारले अरुको कार्यकर्ता तान्न र आफ्नै कार्यकर्ता जोगाउन पनि ठूलै रकम खर्च गर्ने गरेका छन् । चार वटासम्म चारचक्के गाडी प्रयोग गर्न पाउने प्रावधान रहे पनि यहाँका कतिपय उम्मेदवारले एक दर्जनभन्दा बढी गाडी प्रयोगमा ल्याइरहेको बुद्धिजीवीहरु बताउँछन् । “अधिकांश उम्मेदवारले भारतीय नम्बर प्लेटका गाडी प्रचारप्रसारमा प्रयोगमा ल्याइरहेका छन्,” वीरगञ्जका स्थानीय बुद्धिजीवी अनिल वर्णवाल भन्नुहुन्छ – “उम्मेदवारले गाडीमै साउण्ड बक्स जडान गरी चुनावी गीत बजाउँदै घरदैलो गरिरहेका छन् । मतदाता लोभ्याउन चुनावी भोजभतेरमा बन्देज लागे पनि दिनहुँ प्रत्येक क्षेत्रमा भोजभतेर चलिरहेको छ ।”

“मतदाता शिक्षा यहाँ प्रभावकारी देखिएको छैन । मन परेका व्यक्तिलाई छानेर मत हाल्न पाइने कि नपाइने, कसरी छाप लगाउने, कसरी पट्याउने भन्ने कुराको चिन्ता छ,” कलैया– ५ की गृहिणी राधारानी पटेलले भन्नुभयो – “श्रीमान् र छोराछोरीसँग सोधपुछ गरेकी छु ।”

खुला सिमाना र सुरक्षा चुनौती

निर्वाचनको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौती पनि बढ्न थालेको छ । उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता लक्ष्यित आक्रमण रोकिएका छैनन् । “निर्वाचनका बेला सुरक्षाका व्यवस्थाका लागि तीनै निकाय संयुक्त र समन्वयात्मकरुपमा परिचालन भएको छ,” प्रदेश नं २ को सुरक्षा अवस्थाबारे जानकारी लिन प्रदेश नं २ का जिल्लामा दौडाहामा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थले भन्नुभयो । “भारतसँगको खुला सिमाना यहाँका प्रमुख चुनौतीका रुपमा देखिएको छ,” उहाँले भन्नुभयो – “त्यस्ता चुनौती सामना गर्न स्थानीय प्रहरी र प्रशासनले अधिकतम उपाय गरिरहेकाले ढुक्कसँग मतदान गर्न पाउने अवस्था छ ।”

प्रहरीले ठाउँठाउँमा चेक प्वाइन्ट राखेर सुरक्षा जाँचसमेत तीव्र बनाएको छ । “निर्वाचन बिथोल्ने समूहले खुला नाकाको दुरुपयोग सजिलै गर्न सक्छन्,” बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले भन्नुभयो – “खुला सिमानाका कारण घुसपैठ र आपराधिक घटना हुनसक्ने अवस्थालाई ध्यानमा राखेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।” भारतबाट भाडाका अपराधी निर्वाचनमा उपयोग हुनसक्ने पूर्वानुमानका आधारमा सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखेर बारा, पर्सालगायतका मुख्य नाकामा तालीम प्राप्त कुकुरसमेत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस