रंगशाला निर्माणमा मलेशियाबाट नेपालीहरुको आर्थिक सहयोग

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, ११ : २०
रंगशाला निर्माणमा मलेशियाबाट नेपालीहरुको आर्थिक सहयोग

चितवन ।भरतपुरको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मलेशियाबाट नेपालीहरुले सहयोग गरेका छन् । मलेशियास्थित सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुले रंगशाला निर्माणका लागि ४ लाख ३ हजार २८८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशनको बैंक खातामा उक्त रकम पठाएका हुन् । रकम सहयोग सँगै रंगशालाको प्याराफिटको ३ वटा कुर्चीमा उक्त समूहमा नाम लेखिने भएको छ ।

रंगशाला निर्माण अभियानमा इट्टा थप्नका लागि आर्थिक सहयोग गरिएको उक्त कम्पनीमा कार्यरत नारायण परियारले बताए । कम्पनीमा कार्यरत नेपालीहरुबाट रकम संकलन गरेर फाउण्डेशनलाई आर्थिक सहयोग पठाएको उनले बताए ।

‘हाम्रै देशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्नु गर्वको बिषय हो, उनले भने, यो अभियान सफल बनाउन सबैले एक-एक इट्टा भए पनि सहयोग गर्नुपर्छ भनेर हामीले आफ्नो तर्फबाट जती सकिन्छ संकलन गरेर पठाएका हौं ।’ उनले सबैलाई रंगशाला निर्माण अभियानमा हातेमालो गर्न आग्रह पनि गरे ।

फाउण्डेशनले सहयोगका लागि सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुलाई धन्यवाद व्यक्त गरेको छ । रंगशालालाई आर्थिक सहयोग आवश्यक रहेको भन्दै फाउण्डेशनले सबैलाई सहयोगका लागि अपिल समेत गरेको छ ।

रंगशालाको अहिले ३५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको छ । रंगशालाको दुई स्ट्यान्ड जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ भने टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस