जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, ११ : १७
जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकमा जाने पक्का भएकी प्रशिक्षक इन्द्रकुमारी मल्ल आइतबार कोरोना पोजेटिभ देखिएको भन्दै जापान जानबाट रोकिइन् ।नेपाल ओलम्पिक कमिटीले उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो । मल्लले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन् । तर जापान जानुअघि शनिबार कोरोना संक्रमण परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो ।

टोकियो २०२० को आयोजकल कमिटीले बनाएको नियम अनुसार १४ दिनअघि एक पटक मात्र कोरोना पोजेटिभ देखिए पनि जापान प्रवेश गर्न पाइने छैन ।मल्लले आइतबार आफैं कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । ओलम्पिकमा जानेहरुको कोरोना परिक्षण गरिएकै प्रयोगशाला स्टार हस्पिटलमा उनले परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो ।

मल्लले आफूलाई जापान जानबाट रोक्ने योजनाअनुसार कोरोना रिपोर्ट पोजेटिभ देखाएको बताएकी छन् । ओलम्पिकमा सहभागी हुन जाने सबै जना एउटै होटलमा बस्दै आएकामा आफ्नो मात्र रिपोर्ट पोजेटिभ आउनु रहस्यमय भएको उनले बताइन् ।

‘हामी सबै जना संगै बसेका छौँ । कसैको पोजेटिभ नहुने मेरो मात्र कसरी पोजेटिभ आयो भनेर फेरि परिक्षण गराएको नेगेटिभ आयो’ मल्लले भनिन्, ‘मैले स्टार हस्पिटलसहित ४ ठाउँमा फेरि परीक्षण गराएँ । सबैमा नेगेटिभ आयो ।’

आफू खेलकुदमा लागेको लामो समय भइसकेको र ओलम्पिकमा जाने अवसर आउँदा त्यसबाट वञ्चित गरिएको मल्लले बताइन् । ‘यसको सुरुमै पोजेटिभ देखाएर यसलाई नलैजाने भनेर पूर्वयोजना नै बनाएको जस्तो देखियो । महिला भएकोले मलाई बलिको बोका बनाइयो ।’ उनले यो विषयमा नेपाल ओलम्पिक कमिटीबाट जानकारी माग्ने बताइन् ।

यसबारे बुझ्न प्रयास गर्दा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठसंग सम्पर्क हुन सकेन । अध्यक्ष श्रेष्ठ र महासचिव श्रेष्ठ सहितको टोली जापान जानका लागि त्रिभुवन विमालनस्थल पुगिसकेका छन् र उनीहरु सोमबार नै टोकियो प्रस्थान गर्दैछन् ।

यस्तै एनओसी उपाध्यक्ष तथा कार्यकारी निदर्शेक चतुरानन्द राजवैद्य यसअघि नै जापान पुगिसकेका छन् ।ओलम्पिक जाने खेलाडीहरुको प्रशिक्षण र होटल व्यवस्थापन गरेका राष्ट्रिय खेलकुद परिषदका महेन्द्र राईले आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

‘एनओसीले राखेपलाई उहाँलाई कोरोना पोजेटिभ देखिएकोले उनलाई प्रशिक्षकबाट हटाएर अर्को प्रशिक्षक नियुक्त गरिएको छ भनेर जानकारी गराएको छ । त्यसबाहेक अरु थाहा छैन’ राईले भने, ‘अस्ति राति नै पोजेटिभ देखिएपछि उहाँलाई होटल छोड्नसमेत जानकारी गराइसकेको छ ।’मल्लको स्थानमा टोकियो ओलम्पिकमा जाने लागेका सन्तोष श्रेष्ठ ओलम्पिक जान नपाएका खेलाडी गोपीचन्द्र पार्कीका प्रशिक्षक हुन् ।

यसअघि म्याराथन धावक गोपी ओलम्पिक खेल्न जाने पक्का भएपनि अन्तिम समयमा म्याराथनको कोटा धेरै भएकोले गोपीलाई सहभागी गराउन नसकिने भन्दै नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथ्लेटिक्स संघले संयुक्त रुपमा विज्ञप्तिमार्फत जानकारी गराएका थिए । उनको सट्टा  एक सय मिटर दौडकी खेलाडी सरस्वती चौधरी ओलम्पिकमा सहभागी हुन लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस