दमौली । बुधबार राति परेको भीषण वर्षाले छाब्दी खोलाको पक्की पुल भत्कियो । व्यास नगरपालिकाको भादगाउँ र बेलवास जोड्ने पक्की पुल भत्किएसँगै ग्रामीण बस्तीसँग सदरमुकाम दमौली बजारको दूरी पनि बढेको छ । अठार वर्ष अगाडि बनेको मोटर गुड्ने यही पुलबाट आवतजावत गर्ने सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता आइपरेको छ ।
बुद्धसिं मार्गअन्तर्गत निर्मित पुल भत्किएपछि यातायात सञ्जालबाट ग्रामीण बस्तीको सम्बन्ध टुटेको छ । किसानले उत्पादन गरेका कृषि उपज दमौली ल्याएर बिक्री गर्न सास्ती भएको छ । ग्रामीण भेगमा दैनिक उपभोग्य वस्तु ढुवानी हुन सकेको छैन ।
पुल भत्किएसँगै तनहुँको दक्षिणी भेगसँगको सम्पर्क टुटेको बेलवासका स्थानीयवासी यामबहादुर आलेले बताए । “बुद्धसिं मार्गअन्तर्गत योबाहेक अर्को कुनै पुल थिएन, बल्ल बल्ल सुडेमा एउटा पुल बनेको छ, दमौलीलाई जोड्ने यो मात्रै एउटा पुल थियो”, आलेले भने, “पुल भत्किएसँगै दमौलीसँगको सम्पर्क टुट्यो ।”
यही पुल हुँदै व्यास–१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुर लगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे । तनहुँ क्षेत्र नं १ र २ अन्तर्गतका दक्षिणी भेगलाई जोड्ने यो पुल भत्किएसँगै स्थानीयवासीलाई समस्या भएको उनको भनाइ छ । “पुल भत्किएसँगै सर्वसाधारणलाई आवतजावत गर्न समस्या त भएको छ नै कृषि उपज सामग्री, दूध लगायतका सामग्री बिक्री वितरण पनि प्रभावित भएको छ”, आलेले भने ।
उनका अनुसार यही पुल हुँदै यस भेगका सर्वसाधारणले दूध, निउरो, तरकारी लगायतका कृषि उपज बिक्री गर्न जान्थे । “गरीबहरुले एक छाक टार्नका लागि तरकारी बिक्री गर्न पनि नपाउने भए, पुल भत्किएपछि ठूलो सङ्कट आइपरेको छ”, आलेले भने, “छिटोभन्दा छिटो यहाँ पुल बन्नुपर्छ ।” पुल भत्किएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारको चासो रहेको पाए पनि सरकारी कामको ढिलासुस्तीले पुल निर्माणमा ढिलाइ हुने हो कि भन्ने चिन्ता थपिएको उनी बताउँछन ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ असार २०७८, १३ : ५१
लेखकबाट थप