कास्की । सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो ।
उक्त स्थानमा सडकभन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ । सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए । उक्त स्थानमा विगत देखिनै सामान्य वर्षा हुने वित्तिकै पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।
सडक अवरुद्ध बनेपछि विभिन्न मालबाहक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङलगायत स्थानबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन् ।
सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँ पुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारीसाधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ असार २०७८, १४ : ३५
लेखकबाट थप