काँग्रेसका शिर्ष नेता विमलेन्द्र, प्रकाशमान र शशांक बिच पुन: आज चाक्सीबारीमा लन्चवार्ता

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, ११ : ०४
काँग्रेसका शिर्ष नेता विमलेन्द्र, प्रकाशमान र शशांक बिच पुन: आज चाक्सीबारीमा लन्चवार्ता

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदैं गर्दा पार्टीका नेताहरु आफु सभापति पदमा उठ्ने भन्दै सघाउन नेता, कार्यकर्तालाई आग्रह गर्दै आएका छन् ।

त्यसमा पनि पछिल्लो समय निकै चर्चामा आउन सफल पार्टीभित्र छुट्टै धार निर्माण गर्ने गरी छलफल अघि बढाएका कांग्रेसका शीर्ष तीन नेता बिच पुनः आज पनि छलफल हुने भएको छ। उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच आज पनि छलफल हुन लागेको हो। आज यि तिनजना बिचको भेट भने नेता सिंहको चाक्सिबारीस्थित निवासमा साढे ११ बजेपछि हुने भएको छ ।

उनीहरु लञ्चसहितको बैठक बस्न लागेको जनाइएको छ। यी नेताहरुबीच यसअघि निधि र कोइराला निवासमा छलफल भएको थियो। आजको छलफल गत साताको सोमबार र शुक्रबारको छलफलकै निरन्तरता भएको नेताहरुले बताएका छन्।

यसअघिको छलफलमा पार्टीभित्र तीन नेताको पहलमा वृहत एकता गर्ने समझदारी भएको र आफ्नो समूहलाई दीर्घकालीन बनाउने विषयमा नेताहरुबीच सैद्धान्तिक समझदारी बनेको बताइएको थियो। महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरुले भेटघाट र छलफललाई तिब्रता दिएका छन्। पार्टीका नेताहरु आ–आफ्नो गुट विस्तार गर्दै आफुलाई सघाउन एकअर्कासंग आग्रह गर्दै आएका छन् ।