ओलीले सत्तामा टिकिरहनका लागि अझै षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै : प्रचण्ड (भिडियोसहित)

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, २० : १३

फाइल फोटो

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताएका छन् ।  

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्र्तक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको बाताएका हुन् । उनले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफुले पाएको दाबी पनि गरे । 

प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा  राजनीतिक भविश्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गाटीहरु चाल्न सक्ने खतरा रहेको अध्यक्ष दाहालले दाबी गरे । 

प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुल्ला षड्यन्त्र गरेको पनि अध्यक्ष दाहालले आरोप लगाए । 

प्रधानमन्त्री ओलीले हारेको अनुभुत आफुले गरेको भन्दै उहाँले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने जिकिर गरे । उनले भने – ‘केपी जी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपी जीलाई यसो सम्झिदाखेरी पनि कठै विचरा भन्नपनि मन लाग्छ । त्यत्रो वर्ष दुख ग¥या हो । चौध वर्ष जेल पनि बस्या हो हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र ? त्यसकारण उहाँ चाहीँ ओरालो लागेकै रुपले बुझ्छु । अझै षड्यन्त्रका केही गोटीहरु चाल्नको लागि उहाँ जुनसुकै हदमा जाने खतरा पनि छ ।’

उहाँले ढिलै भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गर्नुभयो । तथ्य, तर्क र प्रमाणले पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यद्यपी संसद पुर्नस्थापना नै भएपनि ठुलो खेल चलिराखेको गन्ध आफुले पाएको उहाँले बताउनुभयो । पुर्नस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै प्रचण्डले पुर्नस्थापित संसद संसद नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंका समेत व्यक्त गरे । 

अझैपनि ढुक्क हुनसक्ने अवस्था नरहेको बताए । उनले भने – ‘आज पनि म भन्छु संसद पुर्नस्थापना हुन्छ । त्यतिमात्रै होइन, शेरबहादुर जीकै नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी पनि हुन्छ भनेर म भन्छु । अदालतले गर्छ किनकी संविधानको व्यवस्था अनुसार हाम्रो परम्परा र नजीर अनुसार त्यसो नहुनुपर्ने कारण नै छैन । संसद त पुर्नस्थापना हुन्छ । सबै तथ्य, तर्क, प्रमाण, नजिर सबै हेर्दा संसद पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर म अझै विश्वस्त हुन सक्या छैन । अझै पनि एउटा खेल अलि ठुलै चलिराखेको पनि गन्ध आउँछ मलाई ।

अझैपनि पुर्नस्थपना नै गरेपनि त्यो पुर्नस्थापना, पुर्नस्थापना नहुनुभन्दा पनि रद्दी हुनपनि सक्छ । पुर्नस्थापनाले मात्रै समस्याको हल नहुनपनि सक्छ । त्यसो भएको हुनाले हामीले सर्तकता अलिकतिपनि छुटाउनुहुने, या भैहाल्छ पुर्नस्थापना, सरकार त बनिहाल्छ भनेर ढुक्क हुने स्थिति बनिसकेको जस्तो मलाई फिलिङ छैन ।’

प्रतिक्रिया दिनुहोस